Listen LIVE

नेपालगञ्ज नाकाबाट सात अर्ब बढीको खाद्यान्न आयात

नेपालगञ्ज : गत आर्थिक वर्ष २०८०।८१ मा नेपालगञ्ज नाकाबाट सात अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तयाङ्क अनुसार गत आवमा आयात भएको चामल, खाद्यान्न मकै, गहुँ र धान अघिल्लो आव २०७९।८० भन्दा करिब ५० करोड रुपैयाँले बढी मूल्यको हो ।

गत आवमा चामल मात्रै चार अर्व १२ करोड २६ लाख ६९ हजार रुपैयाँको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको भन्सार प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिए । यसबाट ४७ करोड २७ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव २०७९।८० मा चार अर्व ७३ करोड ६० लाख ११ हजार रुपैयाँको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९।८० भन्दा आव २०८०।८१ मा चामल आयातको मूल्यमा कमी आएपनि परिमाणमा वृद्धि भएको छ ।

यसैगरी आर्थिक वर्ष २०८०।८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजार रुपैयाँको खाद्यान्न मकै भारतबाट आयात भएको छ । आव २०७९।८० मा दुई अर्व ९ करोड ९९ लाख ९५ हजार रुपैयाँको खाद्यान्न मकै आयात भएको थियो ।

गत आवमा ८४ करोड ९१ लख ९३ हजार रुपैयाँको गहुँ आयात भएको छ । आव २०७९।८० मा ११ करोड ४१ लख ८८ हजार रुपैयाँको मात्रै गहुँ आयात भएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजार रुपैयाँको धान आयात भएको छ । आव २०७९।८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

प्रतिक्रिया