बर्दिया : वर्दियामा कृषि बिमा अन्तर्गत केरा खेतीको बिमा नहुँदा किसानहरू चिन्तित भएका छन् । किसानले दुःख गरेको खेती विपत् र रोग कीराका कारण नोक्सान भएमा क्षतिपूर्ति दिने गरी कृषि बिमाको व्यवस्था गरेको थियो ।
बर्दियामा कृषि बिमा पूर्णरूपमा लागु हुन नसक्दा किसानहरू मर्कामा परेका छन् । कृषि बिमा कम्पनीले केराको बिमा नगरी दिँदा किसानहरू मर्कामा परेका छन् । केरामा धेरै लगानी लाग्ने र कुनै कारणबस नोक्सान भएमा किसानलाई धेरै नोक्सान हुने गर्दछ ।
विषेशगरी हावाहुरीको कारणले केरा धेरै नै नष्ट हुन्छ । बर्दियामा कहिलेकाँही हात्ती लगायतका वन्यजन्तुबाट पनि केरामा क्षति हुने गरेको छ । कृषि बिमा कम्पनीले केरा खेतीलाई बिमा नगरीदिँदा जोखिममा परेको गुलरिया नगरपालिका वडा ४ की केरा किसान सुनिता चौधरीले बताइन् ।
कृषि बिमा गर्दा सरकारले बिमा रकमको ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले पशु बिमा गर्दा २० प्रतिशत बेहोरेर निःशुल्क बिमा समेत गराएका छन् । तर धान, गहुँ लगायतका खेती र फलफूल खेतीको बिमा नै नभएको किसानहरू बताउँछन् ।
कृषि, पशुपक्षी तथा जडिबुटी बिमा निर्देशिका २०७९ मा बर्दिया जिल्लामा कृषि बिमाका लागि हिमालय एभरेस्ट एन्सेरियन्स कम्पनी लिमिटेडलाई तोकेको छ । तर कम्पनीले नै बिमाको कामलाई अगाडि बढाउन आनाकानी गरेको किसानहरू कृषि आधुनिकीकरण कार्यक्रमका संयोजक शम्भुप्रसाद अधिकारीले बताए ।
बिमा गर्नका लागि कम्पनी नै तयार हुँदैनन्, बिमा गरे पनि नोक्सानको भुक्तानी पाउन समेत मुस्किल छ । उनले भने, æपहिला बिमा गर्दा पनि भुक्तानी पाउन सकिएन अहिले बिमा गर्न मुस्किल छ ।Æ
केरा व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले केरा बिमाको विषयमा कुनै पनि बिमा कम्पनीले कुरा गर्न नै नचाहेको बताए । æकृषि बिमाको त कुरा नै नगर्नुस्, सरकारले दिने भने अनुदान नै दिँदैन भन्छन् बिमा कम्पनीलेÆ उनले भने –æराष्ट्रिय बिमा कम्पनीले समेत कृषि बिमाको बारेमा कुरा नगर्नुस् भन्छन् ।Æ
कतिपय पालिकाहरूले पशु बिमाका लागि अनुदान दिएर किसानलाई निःशुल्क बिमा गरिदिएको बताउँदै बर्दियामा केराको बिमा नहुँदा किसानहरू मर्कामा परेको उनले बताए ।
हिमालयन एभरेस्ट इन्सोरेन्स कम्पनी गुलरियाकी मार्केटिङ अफिसर अनिसा सलामीले केरा रोपेको १५ दिनभित्र बिमा कम्पनीलाई देखाइ बिमा गर्नुपर्ने व्यवस्था भएको बताइन् । उनले केरा ठुला भएपछि मात्र किसानहरू बिमाका लागि आएको हुँदा बिमा गर्न नसकिएको बताइन् । नियममा रोपेको १५ दिनभित्र नै सम्पर्क गर्नुपर्ने व्यवस्था भएको उनले बताइन् ।
सरकारले केराका लागि प्रतिबोट दुई सय ७५ रुपैयाँ मुल्याङ्कन तोकेको छ । जसमध्ये ६ प्रतिशत रकम तिरेर बिमा गर्ने व्यवस्था छ । जसमध्ये ८० प्रतिशत रकम सरकारले अनुदान दिने गर्दछ । कारणबस केरा खेती नोक्सान भएमा बिमा गरेको तीन महिना भित्र ५५ प्रतिशत ६ महिना कटेमा ७० प्रतिशत, ९ महिना देखि १२ महिनासम्म ९० प्रतिशत बिमा रकम दाबी गर्न पाउने व्यवस्था रहेको छ ।
बर्दिया जिल्लाका ६ सय किसानहरूले ७ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरेका छन् । यस वर्ष बर्दियामा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् । बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार