नेपालगञ्ज : पश्चिम नेपालमै सबैभन्दा बढी हवाई सेवा प्रदान गर्दै आएको नेपालगञ्ज विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण कार्य सम्पन्न भएको छ ।
आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरि शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरेपनि सम्झौताको तीन महिना अगाडी नै निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीका व्यवस्थापक विनोद सुवेदीले सम्झौताभन्दा तीन महिना अगाडीनै टर्मिनल निर्माणको काम पुरा गरिसकिएको जनाउँदै तिहार लगत्तै हस्तान्तरण गरिने बताए । उनले ३०० जना जनशक्ति खटाएर दिनरात तिव्र गतिमा काम गरेको कारण सम्झौता भन्दा पहिलेनै काम पुरा गरिएको जनाउँदै असोजको पहिलो सातामै हस्तान्तरण गर्ने योजना रहेपनि मौसम लगायत केही प्राविधिक कारणले तिहारपछि मात्रै हस्तान्तरण गरिने बताए ।
विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते सम्झौता गरेर २०८२ साल पुस सम्ममा तीन अर्ब नौ करोड रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका व्यवस्थापक सुवेदीले दुई तलासहितको अत्याधुनिक टर्मिनल भवनलाई अन्तराष्ट्रिय उडान गर्न सकिने गरि पूर्वाधारहरु निर्माण गरिएको जनाउँदै अध्यायगमन र सुरक्षाका लागि कार्यालय भवनहरु पनि तयार पारिएको बताए । भवनको अन्डरग्राउड तलामा सर्वसाधारणकालागि विभिन्न पसलहरु समेत राखिने गरि भवन तयार गरिएको छ । उनले थपे, “यो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।”
चार दशकभन्दा पुरानो यस विमानस्थलको स्तरोन्नती गरिएपछि अब यस क्षेत्रका सर्वसाधारणको माग अनुसार भारतको दिल्ली लगायतका ठुला सहरहरुमा पनि उडानको दवाव बढाउन सहज हुने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । उनले समयभन्दा पहिलेनै काम पुरा गरेर निर्माण कम्पनीले उदारहणीय कार्य गरेको बताए ।
सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आधुनिक टर्मिनल भवन निर्माणपछि अब यस क्षेत्रका वासिन्दाले माग गर्दै आएको अन्तराष्ट्रिय उडानहरु पनि संभव हुने बताए ।
नेपालगञ्ज विमानस्थल बिक्रम संवत् २०३७ सालमा निर्माण गरिएको थियो । त्योभन्दा पहिले यो विमानस्थल खजुरामा रहेको थियो । यो विमानस्थलबाट अहिले संघीय राजधानी काठमाण्डौ लगायत कर्णालीका विभिन्न पहाडी जिल्लाहरुमा पनि उडान हुँदै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार