Listen LIVE

किन बढ्दै छ प्याजको भाउ ?

काठमाण्डौ : नेपाली बजारमा केही दिनयता प्याजको मूल्य ह्वात्तै बढेको छ। एक महिनामा प्याजको मूल्य ६० प्रतिशतले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

भदौ १ गते भारतबाट ल्याइएको सुकेको प्याजको औसत मूल्य प्रतिकेजी ९३ रुपैयाँ रहेकोमा शुक्रबार (भदौ १४ गते) १३२ रुपैयाँ पुगेको छ भने साउन १४ गते एक किलो प्याजको ८२ रुपैयाँ थियो। शुक्रबार भारतीय प्याजको न्यूनतम १३०, अधिकतम १३५ रुपैयाँ र चिनियाँ प्याज एक किलोको १२० देखि १२५ रुपैयाँ पुगेको समितिले जनाएको छ। 

मूल्य बढेसँगै कालिमाटी बजारमा भित्रिने प्याजको परिमाण घटेको छ। सामान्यतया ७० टनको हाराहारीमा प्याज आउने गरेकोमा अहिले ५० देखि ५५ टन भित्रिने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। 

भारतमा खरिद मूल्य धेरै परेकाले नेपाली बजारमा बिक्री मूल्य बढेको श्रेष्ठ बताउँछन्। ‘भारतले लगाउने भन्सार करको प्रभाव यहाँको बजारमा परेको हो’‚ उनले भने‚ ‘स्थानीय प्याज छैन, सबै भारतबाटै आउने भएकाले उता प्याजको मूल्य बढेपछि यता पनि बढ्ने गरेको छ।’

त्यसो त व्यापारीले मनलाग्दी ढंगले मूल्य बढाउने प्रवृत्ति बजारमा देखिन्छ। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन भारतले निर्धारण गरेको भन्सार कर अनुसार तुलनात्मक रूपमा यहाँ प्रतिकेजी १५ रुपैयाँ मात्र बढ्नुपर्ने बताउँछन्। 

‘तर व्यापारीले मनलाग्दी ढंगले आफूखुशी मूल्य बढाएर किलोको १४० रुपैयाँसम्म पुर्याएका छन’‚ उनले भने‚ ‘प्याज छुन सक्ने अवस्था छैन तर अनुगमनमा सरकारको उपस्थिति शून्य छ।’ 

किन बढ्छ प्याजको भाउ ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीका अनुसार मुख्य गरी, आयात र स्टक कति छ भन्नेमा मूल्य घटबढ हुने गर्छ। कहिलेकाहीँ कालोबजारी भएर ठूला व्यापारीले लुकाएर स्टक राख्दा पनि मूल्य बढ्ने गरेको छ।

यसैगरी भारतमा धेरै पानी पर्यो र बाढी गयो भने मध्य प्रदेश र आन्ध्र प्रदेशबाट हुने आपूर्ति व्यवस्था प्रणालीमा समस्या परेर पहिले जति सामान नआउँदा पनि बजारमूल्यमा असर पर्ने गरेको पाइएको अर्थविज्ञ जोशीले बताए। 

नेपालमा प्याजको आयात

नेपालमा कुल खपतको ९० प्रतिशत बढी प्याज अन्य मुलुकबाट आयात गरिन्छ। विशेषगरी भारतीय र चिनियाँ प्याज किनबेच हुँदै आएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आवको पहिलो महिना (साउन) मा मात्र भारतबाट ४६ लाख ८१ हजार ३६२ केजी प्याज आयात गरिएको छ, जसको आयात मूल्य प्याजको आयात मूल्य १९ करोड ९१ लाख ५ हजार रुपैयाँ रहेको छ।

एक महिनामा प्याजबाट सरकारले ३ करोड ७६ लाख १६ हजार राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ।   

आर्थिक वर्ष २०७९।०८० मा ७ अर्ब ९८ करोड ९ लाख रुपैयाँको १ लाख ९० हजार ६१२ मेट्रिक टन लसुनप्याज आयात गरिएको थियो भने आव २०८०।०८१ मा ४ अर्ब ४६ करोड ८९ लाख रुपैयाँको ६९ हजार १७९ मेट्रिक टन प्याज र लसुन भित्रिएको कृषि मन्त्रालयले जनाएको छ ।  

परनिर्भरता कहिलेसम्म ?

नेपालमै प्याजको उत्पादन बढाएर परनिर्भरता अन्त्य गर्न सकिने विज्ञ बताउँछन् तर सरकारले मुलुकमै प्याजको उत्पादन बढाउन पर्याप्त कदम चालेको देखिदैन। 

वि.सं. २०६६ सालदेखि प्याजको उत्पादन बढाउन अभियान थालिए पनि मुलुक संघीयतामा गएपछि कृषि क्षेत्रको संरचनामा आएको परिवर्तनका कारण यस्ता अभियान प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन्। यद्यपि संघीय सरकारबाट करिब १६ वटा स्थानीय तहमा प्याज प्रवर्धन कार्यक्रमका लागि अनुदान गएको वरिष्ठ कृषि अर्थविज्ञ जोशीले बताए।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले तरकारी जोनहरूमा प्याज लगायत अन्य ताजा तरकारी उत्पादनमा जोड दिएको छ। ‘तर त्यसले मात्र पुग्दैन, ठूलो भूमिका प्रदेश सरकार, स्थानीय तह किसानसँग सिधा जोडिने भएकाले उनीहरूले प्याज उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर थप बढावा दिएर अगाडि बढाउन सके अहिलेको परनिर्भरता हटाउन सकिने उनी बताउँछन्। 

आयातित प्याजलाई लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी कोल्डस्टोरमा भण्डार गरेर राख्न सक्ने व्यवस्था गर्नुपर्नेमा यसमा कमजोरी देखिएको छ। ‘भण्डारण गर्ने क्षमताको विकास गर्ने, यसप्रकारको संरचना बनाउने काममा निजी क्षेत्रले पहल गर्न जरुरी छ’‚ उनले भने‚ ड्ढयसो गर्न सके सस्तो मूल्यमा उताबाट ल्याएर र आन्तरिक उत्पादनलाई पनि बिग्रेर खेर जान नदिई स्टोर गरेर राख्न सके उपभोक्तालाई मर्का पर्ने थिएन।’

‘सातवटै प्रदेश र स्थानीय तहहरुले प्याज प्रवर्धन कार्यक्रम गहन रूपमा सञ्चालन गर्न सके परनिर्भरता घट्न सक्छ’‚ अर्थविज्ञ जोशीले भने‚ ‘नेपालमा खपतको तुलनामा निकै कम प्याज उत्पादन हुन्छ‚ त्यो पनि उपयुक्त भण्डारणको अभावमा कुहिएर खेर जाने गरेको छ।’

प्रतिक्रिया