Listen LIVE

स्पेनलाई हराउँदै ६ दशक लामो उपाधि खडेरी तोड्न चाहन्छ इङ्ल्याण्ड

काठमाण्डौ : युइएफए युरोपियन फुटबल च्याम्पियनसिप युरो कप २०२४ को उपाधिका लागि स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ। १७औं संस्करणको फाइनल आज राति पौने १ बजे बर्लिनमा हुनेछ।

बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो। यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो।

उपाधिका लागि ३ पटकको विजेता स्पेन र साबिक उपविजेता इङ्ल्याण्डबीच खेल हुनेछ। दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै समान २–१ गोलले खेल जितेर फाइनलमा पुगेका टोली हुन्।

युवा र अनुभवी खेलाडीको समिश्रण रहेको स्पेनले समुहमा शतप्रतिशत जित निकाल्दै नकआउटमा स्थान बनाएको थियो। समूहमा साबिक विजेता इटालीलाई हराएको स्पेनले अन्तिम १६ मा नवप्रवेश जर्जिया र क्वाटरफाइनलमा घरेलु तथा युरोकपको सर्वाधिक सफल टोली जर्मनीलाई अतिरिक्त समयमा स्तब्ध बनायो। फाइनलसम्म आउँदा ६ खेलमा स्पेनले १३ गोल गर्दा ३ गोल व्यहोरेको छ।

युरोकपको दोस्रो संस्करण सन् १९६४ मा पहिलो उपाधि जितेको स्पेनले २००८ र २०१२ मा लगातार २ उपाधि जितेको जितेको थियो।  निको विलियम्स, लामिन यमाल जस्ता उदीयमान र ड्यानि ओलमो, रोड्रि, फाबियान रुइज लगायतका अनुभवी खेलाडीको साथ पाएको स्पेनले जारी संस्करण शनशनीपूर्ण प्रदर्शन गरिरहेको छ।

अन्तर्राष्ट्रिय फुटबलमा सँधै दाबेदार मानिए पनि उपाधिको आधारमा भने इङ्ल्याण्ड खासै सफल टोली होइन। सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेयता इङ्लिस टोलीले कुनै पनि ठूला उपाधि जित्न सकेको छैन्।

त्यो उपाधिपछि उसको सफलता भनेकै गत संस्करण युरोकपको उपविजेता बन्नु हो। त्यसैले ६ दशक लामो उपाधि खडेरी तोड्दै इङ्ल्याण्ड विश्व फुटबलमा आफ्नो उपस्थिति देखाउन चाहन्छ। १ जित र २ बराबरी खेल्दै समूह विजेताका रुपमा नकआउट आएको उसले अन्तिम १६ मा स्लोभाकियालाई अतिरिक्त समयमा २–१ र क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

जारी संस्करण टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ। विश्वस्तरीय खेलाडीहरु ह्यारी केन, जुड वेलिङ्घम, बुकायो शाका, फिल फोडेन लगायतको साथ पाएको इङ्ल्याण्ड इतिहास रच्ने दाउमा छ।

यस पटक ६ खेलाडीले समान ३–३ गोल गर्दा इङ्ल्याण्डका कप्तान केन र स्पेनका ओलमो सर्वाधिक गोलकर्ताको दौडमा कायम छन्।

स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ खेल हुँदा स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी भएका छन्। पछिल्लो पटक यी दुईबीच २०१८ मा नेशन्स लिगमा भएको भेटमा इङ्ल्याण्ड विजयी भएको थियो।

प्रतिक्रिया