नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१–८२ मा विभिन्न प्रजातिका पाँच लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले गत आर्थिक वर्षमा विभिन्न प्रजातिका पाँच लाख ६० हजार ९६३ वटा बिरुवा उत्पादन गरिएको बताए । एक वर्षीयतर्फ चार लाख २६ हजार ५६२ र बहुवर्षीयतर्फ एक लाख ३४ हजार ४०१ गरी कुल पाँच लाख ६० हजार ९६३ बिरुवा उत्पादन गरिएको उनले जनाए ।
एक वर्षीयतर्फ सावगन, मसला, बकाइनो, इपिल इपिल, गोल्डमोहर, सितलचिनी, खयर, सिसौ, अम्बा, सेतो सिरिष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासीया, अर्जुनलगायतका बिरुवा र बहुवर्षीयतर्फ अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो सिरिष, कागती, श्रीखण्ड, कनकचम्पा फूल, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल, एकासीया लगायतका बिरुवा उत्पादन गरिएको वरिष्ठ वन अधिकृत पोख्रेलले जानकारी दिए ।
पोख्रेलका अनुसार एक वर्षीयतर्फ राप्ती सवडिभिजन वन कार्यालयको नर्सरीमा ५७ हजार, नरैनापुर सवडिभिजनको नर्सरीमा ५७ हजार ३५, शमसेरगन्ज सवडिभिजनको नर्सरीमा ३६ हजार ७६, ढकेरी वन नर्सरीमा ३२ हजार ५०६, डिभिजन वन कार्यालयको नर्सरी (आपूर्ति समिति) मा एक लाख ३६ हजार ५६६, सिक्टा सवडिभिजनको नर्सरीमा ५० हजार २००, कोहलपुर सवडिभिजनको नर्सरीमा २८ हजार र डिभिजन वन कार्यालयको नर्सरीमा २९ हजार १७९ गरी चार लाख २६ हजार ५६२ बिरुवा उत्पादन भएको हो ।
त्यसैगरी, बहुवर्षीयतर्फ राप्ती सवडिभिजनको नर्सरीमा २५ हजार ५००, शमसेरगन्ज सवडिभिजनको नर्सरीमा २५ हजार १००, ढकेरी वन नर्सरीमा १८ हजार, कोहलपुर सवडिभिजनको नर्सरीमा १३ हजार र डिभिजन वन कार्यालयको नर्सरीमा ५२ हजार ८०१ गरी एक लाख ३४ हजार ४०१ बिरुवा उत्पादन गरिएको हो ।
वरिष्ठ वन अधिकृत पोख्रेलका अनुसार एक वर्षीयतर्फ काठजन्य प्रजातिका तीन लाख ९८ हजार ९४५, डालेघाँस प्रजातिका १५ हजार ५९, गैह्रकाष्ठ प्रजातिका सात हजार ८०८, फलफूल प्रजातिका एक हजार ५००, सजावटजन्य प्रजातिका तीन हजार २५० र बहुवर्षीयतर्फ काठजन्य ३४ हजार ८७३, डालेघाँस दुई हजार ५५२, गैह्रकाष्ठ छ हजार ६०, फलफूल २९ हजार ३१६, सजावट ४१ हजार २५ र बहुमूल्य प्रजातिका २० हजार ५७५ बिरुवा उत्पादन भएका हुन् ।
उत्पादन भएका बिरुवाहरु आवश्यकता र मागअनुसार किसानलाई निःशुल्क रुपमा वितरण गरिएको छ । वरिष्ठ वन अधिकृत पोख्रेलका अनुसार डिभिजन वन कार्यालय र जिल्लाका सबै सवडिभिजन वन कार्यालयबाट किसानहरुलाई निःशुल्क रुपमा बिरुवा वितरण गरिएको छ ।
गत आवमा किसानहरुलाई दुई लाख ९३ हजार ९४० बिरुवा वितरण गरिएको छ । एक वर्षीयतर्फ दुई लाख ७० हजार २४० र बहुवर्षीयतर्फ २३ हजार ७०० बिरुवा वितरण गरिएको छ । किसानलाई एक वर्षीयतर्फ काठजन्य प्रजाति दुई लाख ६० हजार २८०, डालेघाँस सात हजार ९५७, गैह्रकाष्ठ नौसय ५३, सजावटजन्य प्रजाति एक हजार ५० र बहुवर्षीयतर्फ काठजन्य प्रजाति सात हजार ५४६, डालेघाँस ५००, गैह्रकाष्ठ तीन हजार ३३७, फलफूल १० हजार १७५ र सजावट प्रजाति दुई हजार १४२ गरी २३ हजार ७०० बिरुवा वितरण गरिएको पोख्रेलले जानकारी दिए ।
वन कार्यालयले किसानलाई बाहिरबाट बिरुवा खरिद गरेर समेत वितरण गरेको छ । वनले आँप, लिची, अनार, रुख कटहर, कागती, अम्बालगायतका बिरुवाहरु बाहिरी जिल्लाबाट खरिद गरेर ४८ हजार ५११ वटा बिरुवा वितरण गरेको हो । बिरुवा खरिद र ढुवानीमा गरी उक्त कार्यका लागि ३९ लाख रुपियाँ खर्च भएको वन कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्लाभर बिरुवा उत्पादन, संरक्षण र वितरणमा वन कार्यालयबाट ६७ लाख ३७ हजार ५०० रुपियाँ खर्च भएको छ । जसमध्ये ४० लाख ४० हजार एकवर्षीय बिरुवा उत्पादन र २६ लाख ९७ हजार ५०० रुपैयाँ बहुवर्षीय बिरुवा उत्पादनमा खर्च भएको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार