Listen LIVE

बाँकेमा यसवर्ष ३५ हजार हेक्टरमा धान रोपियो

नेपालगञ्ज : बाँके जिल्लामा प्रयाप्त वर्षा भएपछि धान रोपाईं सम्पन्न भएको छ । जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाईं भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले पछिल्लो समय वर्षा राम्रो भएपछि जिल्लामा रोपाईं सम्पन्न भएको बताए । उनले बाँकेमा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाईं गरिएको जनाउँदै वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले धान खेती हुने अधिकांश जग्गामा रोपाईं पुरा भएको बताए । 

अधिकृत श्रेष्ठले यस वर्ष ३४ हजार ८५० हेक्टर जग्गामा धान रोपाईं हुने अनुमान गरिएकोमा अनुमान गरिएभन्दा बढी रोपाईं भएको बताए । 

जिल्लाका अन्य क्षेत्रहरुमा केही समय अघिनै रोपाईं सम्पन्न भएपनि सिँचाइ सुविधा कम भएको नरैनापुर गाउँपालिकामा अन्तिममा आएर रोपाईं सकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

जिल्लाका राप्तीसोनारी जानकी, खजुरा, डुडुवा र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकामा भने रोपाईं यसअघि नै पुरा भएको थियो । 

यस वर्ष बिउँ राख्ने र रोपाईं गर्ने समयमा पानी नपरेकोले रोपाईं पुरा नहुने आशंकामा स्थानीय किसान निकै चिन्तित बनेका थिए । जिल्लामा अधिकांश किसानले आकाशे पानीकै भरमा खेती गर्दै आएकोले वर्षा ढिला हुँदा रोपाईंमा पनि ढिलाई हुने गरेको किसानको भनाइ छ । 

डुडुवा ६ का किसान केलाराम महाउतले पछिल्लो समय वर्षा राम्रो भएपछि रोपाईं सम्पन्न गरिएको बताए । 

वर्षा ढिलै भएपनि यस वर्ष जिल्लामा सबै क्षेत्रफलमा धान रोपाईं हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया