नेपालगञ्ज : बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदैआएको आलुको आयात भने घट्नुको साटो बर्षेनि बढ्दैगएको छ ।
नेपालगञ्ज नाकाबाट मात्र गत आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब ११ करोड रुपैयाँ बढीको आलु भारतबाट आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा नेपालगञ्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपैयाँको ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको हो ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० भन्दा गत आवमा १८ करोड रुपियाँको आलु आयात वृद्धि भएको हो । आर्थिक वर्ष २०७९–८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा १८ करोड भन्दा बढीको आलु आयात भएको बताए ।
उनका अनुसा आलु आयातबाट नेपालगञ्ज भन्सारले आव २०७९–८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आव २०८०–८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताए ।
आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपैयाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सकील अहमद खाँले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग धेरै रहेको प्रमाणित गरेको बताए ।
उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।
केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आलु बाहेक अन्य अधिकांश तरकारीको आयात भने घट्दै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार