Listen LIVE

जुम्लाबाट लाखौँको अर्गानिक खाद्य वस्तु निर्यात

जुम्ला : काठमाडौँमा बसेर अधिवक्ताको पेशामा काम गर्ने रत्नबहादुर बुढाले जुम्ला आउँदा अर्गानिक खाद्य वस्तुको खोजी गरे । उनले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित अर्गानिक खाद्य बस्तु मार्सीचामल, सिमीको दाल, ओखर, जुम्मु लगायतका वस्तुहरु लिएर फर्के ।

जुम्लामा आउने पर्यटकदेखि स्थानीय व्यक्तिहरु अर्गानिक कोशेली खरिद गर्ने आधार अहिले जुम्लामा कोशेलीघर तथा अर्गानिक घर स्थापन भई लाखौँको अर्गानिक बस्तु निर्यात भइरहेको छ । यो मात्र नभई जिल्लाका विभिन्न कोशेली घरमा अर्गानिक खाद्य वस्तु निर्यात भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि चन्दननाथ सहकारीबाट स्थापित चन्दननाथ अर्गानिक मिनिमार्केटले मात्रै वर्षेनी करोडभन्दा बढिको विभिन्न खाद्य वस्तु तथा स्थानीय उत्पादन बिक्री गर्ने गरेको छ । चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार चन्दननाथ सहकारीले जुम्लाको चन्दननाथ नगरपालिका, कालिकोट र जुम्लाको सिमाक्षेत्र नाग्म बजार, कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौँमा समेत अर्गानिक पसल राखेर जिल्ला अर्गानिक खाद्यान्नको व्यापार गर्दै आएको छ ।

चन्दननाथ सहकारीबाट अर्गानिक खाद्य वस्तुहरु निर्यात गरिँदै आएको छ । उनका अनुसार चन्दननाथ अर्गानिक मिनि मार्केट जुम्लाबाट मात्रै वर्षेनी लाखौँको खाद्यन्न जिल्ला बाहिर जान्छ । चन्दननाथ मन्दिर तथा जुम्ला आउने पर्यटकहरु यहाँको मार्सीचामल, सिमीको दाल, चिनो, कागुनुको चामल, यहाँको कोदो तथा फापरको पिठो बिक्री भइरहेको जानकारी दिए ।

चन्दननाथ सहकारीका अनुसार वि.सं २०७६ सालदेखि हालसम्म सिमी मात्रै ८१ हजार केजी एक करोड ७५ लाख ५० हजार रुपैयाँको बिक्री गरेको छ । यसैगरी, मार्सीचामल र धान ८१ लाखको बिक्री भएको छ । ओखर मात्रै एक करोड २६ लाखको बिक्री भएको छ ।

त्यस्तै, स्याउको चाना ७२ लाख, जिम्बो ५७ लाख ६० हजार, टमुर २१ लाख ६० हजार, चिनु मुरी ६२ लाख १० हजार, कागुनो ५७ लाख ५० हजार, फापरको पिठो  ५४ लाखको, कोदो १३ लाख ५० हजार, अर्गानिक जडिवुटि चिया १६ लाख २० हजार, जौ को पिठो १३ लाख ५० हजार रुपियाँको बिक्री भएको छ । साथै, सेतो भट्ट १८ लाख ९० हजार, गहत २४ लाख ५० हजार, गुराउस १७ लाख ५० हजार, कला एक लाख १२ हजार पाँच सयको बिक्री भएको छ ।

जुम्लामा उत्पादन भएको अर्गानिक खाद्य बस्तु गाउँगाउँबाट खरिद गर्ने तथा बजारीकरण गर्ने विषयमा जोड दिइएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष ०८१–०८२ मा नेपालगञ्ज, सुर्खेत र काठमाडौँमा ६०८ मेट्रिक टन जुम्ली भेडाबाट बनेको राडिपाखी ३६ लाख ४८ हजार जिल्ला बाहिर निर्यात भएको छ । 

कार्यालयका अनुसार ३८० मेट्रिक टन ६८ लाख ४० हजार हिमाली भेडाको ऊनको कोटेपाखो, १२ लाख ३६ हजारको खरायोको टोपी, १३ लाख २० हजारको खसिको मासु समेत निर्यात भएको छ । जुम्लामा उत्पादन हुने अर्गानिक खाद्य बस्तु तथा यहाँको उत्पादन जिल्ला वाहिर निर्यात हुन सजिलो भइरहेको छ । रारालिही अर्गानिक खाद्यान्न कोशेली पसलले पनि सिमि, मार्सिधान, चामल, ओखर, चिनु, कागुनुलगायतका खाद्य बस्तुहरु वर्षेनी करोडौंको बिक्री गरिरहेको सञ्चालक अर्जुन बुढाले जानकारी दिए ।

प्रतिक्रिया