नेपालगञ्ज : बाँकेमा लक्ष्य अनुसार मलखाद प्राप्त भइरहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जले जनाएको छ । लक्ष्यअनुसार मलखाद प्राप्त हुनेभएपछि बाँकेका किसानलाई चाहिने मलखादको समस्या पहिलेजस्तो नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको हो ।
‘कम्पनीमा मलखाद आउने क्रम जारी छ । गत वर्षको तुलनामा सहज छ’ कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले भने ।
‘प्रत्येक वर्ष विक्री भएका आधारमा आगामी वर्षका लागि मलखाद माग गर्छौं’ शाखा प्रबन्धक श्रेष्ठले भने–‘लक्ष्य अनुसार मलखाद प्राप्त भइरहेकोछ ।’
वर्षायाम सुरु भइसकेकाले यतिबेला बाँकेका किसान बर्खे खेतीमा ब्यस्त छन् । किसानलाई यहीबेला मलखाद पाउन सकस हुने गरेकोछ । तर, कम्पनीका शाखा प्रबन्धक श्रेष्ठले आफूहरुसँग प्रयाप्त मलखाद मौज्दातमा रहेको बताए ।
यो बेला भनेको डिएपी खाद आउनेक्रम जारी छ । हामीलाई प्राप्त भएको मलखाद कम्पनीमा लामो समय भण्डारण गरेर राख्दैनौं । लगत्तै सहकारीलाई वितरण गरिहाल्छौ । जिल्लाका एक सय २८ सक्रिय सहकारीमार्फत मलखाद विक्री गरिरहेको बताउँदै शाखा प्रबन्धक श्रेष्ठले अबको केही दिनपछि युरिया खाद आउने बताए ।
कम्पनीका शाखा प्रबन्धक श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा बाँकेमा युरिया ६ हजार मेट्रिक टन, डिएपी २५ हजार मेट्रिक टन र पोटास तीन सय मेट्रिक टन लक्ष्य रहेको छ ।
२०८० साउन १ देखि २०८१ असार १५ सम्म युरिया, डिएपी र पोटास गरि ४ हजार ४ सय ३९ दशमलव ८ मेट्रिक टन मलखाद विक्री गरिएको शाखा प्रबन्धक श्रेष्ठले बताए । सोही अवधिमा ४ हजार ४ सय २६ दशमलव ७५ मेट्रिक टन मलखाद प्राप्त भएको थियो । भने हाल ४०१ दशमलव ३५ मेट्रिक टन मलखाद मौज्दात रहेकोछ । उनका अनुसार यसमा अघिल्लो वर्षको ४ सय १४ दशमलव ४ मेट्रिक टन बचेको मालखाद समेत जोडिएकोछ ।
‘सन्तुलितरुपमा मलखाद प्रयोग गर्न नजान्दा एकातिर मलखादको समस्या देखिन्छ भने अर्कोतर्फ किसान आफैले आफ्नो खेतको माटोको उर्वराशक्तिमा समेत असर पारिरहेका हुन्छन्’ कम्पनीका शाखा प्रबन्धक श्रेष्ठ भन्छन–‘खेती गर्दा किसानले सन्तुलितरुपमा मलखाद प्रयोग गर्न सक्नुपर्छ ।’
ढुवानी र भौगोलिकका कारण समयमा मलखाद उपलब्ध हुन नसकेको बताउँदै शाखा प्रबन्धक श्रेष्ठ भन्छन–‘मलखाद लोड गरिएका गाडी समयमा गन्तब्यसम्म पुग्न सक्दैनन्, कतिपय अवस्थामा लामो दूरी र भौगोलिक जटिलताका कारण ढुवानीमा असहज भएपछि किसानले सास्ती भोग्नुपरेको हो ।’
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बाँकेको कुल २ लाख २५ हजार ८ सय ३६ हेक्टर क्षेत्रफल छ । यो क्षेत्रफलमध्ये खेतीयोग्य जमिन ५७ हजार २५२ हेक्टर हो । तर, बाँकेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएकोछ । त्यसमा पनि ३४ हजार ८ सय ५० हेक्टर जमिनमा धान खेती हुन्छ ।
यस वर्ष असार १४ गतेसम्म बाँकेमा जम्मा २ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा बाँकेमा १५ प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार