नेपालगञ्ज : नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरू पछिल्ला केही वर्ष यतादेखि विस्थापित हुने क्रममा रहेका छन् । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरू क्रमशः विस्थापित हुँदै गएका हुन् ।
केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यवसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमीहरू पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी महिला उद्यमी बिन्दु चर्तीमगरले बताइन् ।
सीमापारिबाट आउने अवैध फूलमालाहरू स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको तथा भारतबाट बिना चेकजाँच, बिना भन्सार र बिना क्वारेन्टाइन अवैधरूपमा नेपाल आउने प्लास्टिकलगायतका फूलमालाका कारण बाँकेका पुष्प व्यवसायीहरू मर्कामा परेको र विस्थापित हुँदै जान थालेको उनले बताइन् ।
“भारतबाट बिना भन्सार, बिना क्वारेन्टाइन र बिना चेकजाँच विभिन्न किसिमका फूलमालाहरू बाँके जिल्लाका सहरमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन ।” महिला उद्यमी चर्तीमगरले भनिन, “पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौँ, भनेजस्तो पनि बिक्री हुँदैन, पछिल्लो समयमा विस्तारै पुष्प व्यवसायीहरू यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।”
“गत वर्षसम्म बाँकेमा १७ जना महिला उद्यमीहरूले व्यवसायिक फूलखेती गर्दै आउनुभएको थियो, यो वर्ष अधिकांशले फूल खेती गर्नुभएको छैन्, विगत दुई वर्षदेखि लगातार घाटा भइरहेका कारण यस वर्ष फूल खेती गर्नुभएन ।” उनले भनिन, “सीमापारिबाट आउने फूलजन्य वस्तुलाई रोक्नका लागि सङ्घीय सरकारले नीति निर्माण गर्ने एउटा कुरा भयो तर स्थानीय सरकारले पनि आफ्नो काम त गर्नुप¥यो नी, काठमाडौँलगायतका अन्य स्थानीय तहले आफ्नो पालिकाभित्र प्लास्टिकजन्य फूल र बाह्य फूल बिक्री वितरण गर्न बर्जित गरिरहेका छन् कम्तीमा पनि नेपालगन्जले उपमहानगरले त्यही व्यवस्था परे पनि केही त राहत हुनेथियो ।”
हरेक तिहारका समयमा बागेश्वरी मन्दिर वरिपरि सडकभरि खाट र ठेलासमेत लगाएर भारतीय फूलमाला बिक्री हुँदा पनि स्थानीय सरकारले केही नगरेको प्रति चर्तीमगरले गुनासो गरिन् । “हरेक तिहारको समयमा बागेश्वरी मन्दिर वरिपरि बिनादर्ताका पसलहरूले सडकनै ढाक्ने गरी खाट र ठेलामा भारतीय फूलमाला बिक्री गरिरहेका हुन्छन, त्रिवेणी मोडदेखि सेतु विक चोकसम्म सडकको बिचमा रहेको ग्रीन बेल्टमा जताततै भारतीय फूलमालाहरू देख्न सकिन्छ, जसका कारण दुर्घटनाको जोखिमसमेत हुन्छ, मेयरसाबसँग कतिपटक यस बारेमा कुरा राख्यौँ, तर सुनुवाइ हुँदैन ।” उनले भनिन ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ की पुष्प व्यवसायी विष्णु चौधरी पनि लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताउँछिन् । “बाँकेमा फूलखेती मैले सुरुदेखि नै गरेँ, हरेक वर्ष तिहारमा व्यापार राम्रै हुन्थ्यो तर विगत दुई वर्षदेखि लगातार घाटा भयो, भारतबाट आउने फूलका कारण हामीले बिक्री गर्न सकेनौँ, उनीहरूले सस्तोमा बिक्री गरेका कारण हामीले प्रतिस्पर्धा गर्न सकेनौँ, हाम्रो लगानी नै उठ्न छाड्यो ।” उनले भनिन् ।
यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उनले बताइन् । “यो वर्षको तिहारका लागि मैले अघिल्ला वर्षमा भन्दा धेरै कम फूलखेती गरेकी छु, स्थानीयले आफूलाई चाहिने फूलहरू आफैँले उत्पादन गर्नुहुन्छ, त्यसमाथि पारिबाट आउने फूलका कारण बिक्री नभएपछि कम उत्पादन गर्नेतर्फ लागेँ ।” महिला उद्यमी चौधरीले भनिन, “तर मङ्सिर र माघ महिनालक्षित फूल खेती भने गर्दै आएकी छु, त्यस सिजनमा पूजाआजा, बिहे तथा सामाजिक कार्यहरू बढी हुने भएका कारण फूलमालाको माग बढी हुन्छ र त्यो सिजनमा तिहारमा जस्तो घाटा पनि बेहोर्नु पर्दैन ।”
अवैधरूपमा आउने भारतीय फूलमालाले गर्दा अब व्यवसायलाई निरन्तरता दिन गाह्रो परेको बताउँछन् पुष्प व्यवसायीहरू । बिउ, मल, कामदारलगायतमा हुने खर्च, पारिबाट आउने फूलमालासँगको प्रतिस्पर्धाका कारण र उताबाट आउने अवैध फूलमालामा रोकावट नभए अब कुनै पनि पुष्प व्यवसायीले यो पेसालाई निरन्तरता दिन नसक्ने उनीहरूको भनाइ छ ।
तिहारका समयमा नेपालगञ्जको बागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोक लगायतका मुख्य चोकहरू र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा मालाको खुलेआम बिक्री हुने गरेको छ । जसका कारण बाँकेका पुष्प व्यवसायीहरू विस्तारै विस्थापित हुँदै गएका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार