नेपालगञ्ज : देशको अधिकांश युवाहरु रोजगारीका लागि विदेश होमिन लागेका बेला केही युवाले अझै पनि आफ्नै देशमा रगत पसिना बगाएर काम गर्ने सोचका साथ जुटेका छन् ।
त्यस्ता युवामध्येका एक युवक हुन् बाँकेको जानकी गाउँपालिका वडा ४ का कमलबहादुर राना । रानाले विदेश जाने तयारी गरे पनि पछि सो सोच त्यागेर आफ्नै देशमा केही गर्ने ठाने ।
उनले तीन वर्षअघि जानकी नहरचोक नजिकै आफनै १० कठ्ठा जमिनमा स्मृति ड्यागन फ्रुटको फर्म सञ्चालनमा ल्याई ड्रयागन फ्रुटको खेती गर्दै आएका छन् ।
पछिल्लो समयमा नेपालका युवापुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरू भने कृषिमै भविष्य खोज्न थालेकाले उनीहरु सफल हुँदैगएको रानाले बताए ।
करिब २२ लाखजति लगानीमा ड्रयागन खेती सुरु गरेको जनाउँदै उनले एक्लै समूहबाट ऋण लिएर धेरैले कृषि खेती गरेको देख्दा आफूले पनि ड्रयागन फ्रुटको खेती सफल होला भनेर सुरु गरेको बताए ।
ड्रयागन खेतीबाट गत तीन वर्षबाटै राम्रो आम्दानी हुँदैआएको जनाउँदै आफूलाई बजारको पनि समस्या नरहेको रानाले बताए । उनले अधिकांशले फर्ममै आएर ड्रयागन खरिद गर्ने गरेको र कोहलपुर तथा नेपालगञ्जमा राम्रो माग रहेको बताए । बजारको माग बमोजिम ड्रयागन उत्पादन गर्न नसकेको रानाको भनाइ छ ।
सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफूले आशा र विश्वास लिएको तर अहिलेसम्म तिनै तहको सरकारबाट आफूलाई कुनै पनि सहयोग नभएको उनको भनाइ छ । ड्रयागन खेतीको पेशा एकदमै राम्रो र बाह्रमासै हुने हुनाले सो खेती युवालाई विदेश जानबाट रोक्ने एक राम्रो माध्यम बन्न सक्ने बताए ।
रानाको ड्रयागन फर्ममा ड्रयागन खरिद गर्न पुगेका नेपालगञ्जका अनिश श्रेष्ठले जानकीमा ड्रयागन फ्रुट बजारमाभन्दा सस्तो र ताजा पनि पाइने भन्ने सुनेर आएको जनाउँदै सोचेभन्दा राम्रो र ताजा पाएको बताए ।
उता, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कृषि पेशामा लागेका र लाग्न चाहने पालिकाका युवालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा कृषिको विशेष योजना बनाएको बताए । उनले कृषिमा लागेका जानकीका किसानको सुविधाका लागि विजुलीको तार र पोल आफ्नै पालिकाबाट व्यवस्था गरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार