नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले 'विपदमा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी' भन्ने नारासहित ७१औं प्रहरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी, पूर्व प्रहरी, अमर प्रहरी परिवार तथा प्रहरीलाई सहयोग गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले प्रहरीले आफ्ना कर्म र व्यवहारको निर्मम समीक्षा गर्दै परिवर्तित सन्दर्भ अनुसार जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने बताए । प्रहरीले आफ्ना सोच, आचरण र व्यवहारमा आवश्यक सुधार गर्दै त्यसलाई दैनिक कार्यशैलीमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पूर्व प्रहरी संगठन बाँकेको तर्फबाट शशिधर अधिकारी, हरि सुनार, अशक्त अवकाश प्राप्त प्रहरीको तर्फबाट शेरबहादुर बस्नेत तथा अमर प्रहरी परिवारको तर्फबाट एकमाया विकले मन्तव्य व्यक्त गरेका थिए । प्रहरी निरीक्षक रमेश विष्टले स्वागत मन्तव्य राख्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरेका थिए ।
दिवसका अवसरमा प्रहरी निरीक्षक सुरेश कोइराला, प्रहरी वरिष्ठ नायब निरीक्षक ओमबहादुर खड्का, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप खनाल, प्रहरी वरिष्ठ हवल्दार मिनबहादुर घर्ती मगर, प्रहरी हवल्दार उद्धवराज गुरुङ, प्रहरी सहायक हवल्दार कलिराम थारु र प्रहरी जवान जिवराज शाहीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, पूर्व प्रहरी सहायक निरीक्षक -सई) ८७ वर्षीय गोपाल शाहीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । खडैंचा प्रहरी चौकीका लागि जग्गा दान गर्ने लक्ष्ॉ अहिरका छोरा तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री विजयबहादुर यादवलाई पनि कदरपत्र प्रदान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि तामाङले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रहरी सहायक हवल्दार रमेश आचार्यले कविता तथा मुक्तक वाचन गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी सहायक निरीक्षक चन्द्रिका खनालले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्द, जिल्ला अनुसन्धान प्रहरी प्रमुख हरिश विष्ट, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत अतिथिहरुको उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार