Listen LIVE

गाभर भ्याली ग्रामीण पर्यटनको आकर्षक गन्तब्य

नेपालगञ्ज : कुनै समय खेतीपातीमा सीमित बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्याली अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बनेको छ । सामुदायिक होमस्टे सञ्चालनसँगै यहाँको आर्थिक गतिविधि, स्थानीयको जीवनशैली र गाउँको पहिचानमा परिवर्तन आएको छ । प्रकृति, संस्कृति र कृषिलाई पर्यटनसँग जोडेर अघि बढेको गाभर भ्यालीले छोटो समयमै देश तथा विदेशमा छुट्टै पहिचान स्थापित गरेको छ ।

विसं २०७० मा सामुदायिक होमस्टे सञ्चालनमा आएपछि गाभर भ्यालीको पर्यटन यात्रा सुरु भएको हो । अहिले यहाँ २६ वटा होमस्टे सञ्चालनमा छन् । ती होमस्टेमा एकै दिन करिब चार सय पाहुनालाई आवास सुविधा दिन सकिन्छ । यहाँ वार्षिक करिब ३० हजार आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभर भ्याली प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, परम्परागत खानपान र ग्रामीण जीवनशैलीको अनुभव लिन चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । यहाँ आउने पर्यटकले मनोरञ्जनसँगै स्थानीय समुदायको रहनसहन, कृषि प्रणाली, जैविक विविधता र वन्यजन्तु संरक्षणबारे बुझ्ने अवसरसमेत पाउँछन् ।

गाभर भ्याली सामुदायिक होमस्टेका संस्थापक कृष्ण चौधरीका अनुसार यहाँको पर्यटन अवधारणा प्रकृति, संस्कृति र कृषिमा आधारित छ । पर्यटकलाई घुमाउने र बसोबासको सुविधा दिने मात्र नभई स्थानीय ज्ञान, सीप र अभ्याससँग परिचित गराउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको उनी बताउँछन् ।

'प्रकृति, संस्कृति र कृषि गरी तीनवटा विषयमा पाहुनाका लागि सिकाइको केन्द्रका रूपमा गाभर भ्याली स्थापित भएको छ । यसबारे बुझ्न चाहनेहरूका लागि यो खुला विश्वविद्यालयजस्तै सिकाइ केन्द्र हो,' चौधरीले भने ।

गाभर भ्यालीमा पर्यटकले प्रकृतिसँग नजिक रहेर विभिन्न गतिविधिमा सहभागी हुन पाउँछन् । जिप सफारी, जङ्गल वाक, चुरे हाइकिङ, माटो थेरापी, जङ्गल बाथिङ, फिस मसाज र नाइट क्याम्पिङ यहाँका प्रमुख आकर्षण हुन् । स्थानीय संस्कृति, रीतिरिवाज, परम्परा र नाचगानको प्रस्तुतिले पनि पर्यटकलाई ग्रामीण जीवनसँग जोड्ने गरेको छ ।

प्रतिक्रिया