बर्दिया : असोजमा आएको हावाहुरी र वर्षाका कारण पाकेर ढलेको धान खेतमै उम्रिएपछि बर्दियाका किसानले ठुलो क्षति बेहोर्नु परेको छ । खेतमा पानी जमेकाले समयमै धान काट्न नसक्दा गुलरिया नगरपालिका–५, थापाटोलका किसानको वर्षभरिको खाद्यान्न नै नोक्सान भएको छ ।
थापाटोलका जीवन ओलीले १० कट्ठा क्षेत्रफलमा लगाएको धान पूरै उम्रिएको बताए । पाकेको धान हावाहुरी र वर्षाले ढालेपछि खेतमा पानी जमेको र काट्न नसक्दा धानमै टुसा पलाएको उनले जानकारी दिए । 'खेतमा पानी धेरै भएकाले ढलेको धान काट्न सकिएन, अहिले पूरै धान उम्रिसकेको छ,' उनले भने । थापाटोलका पाँच घरपरिवारले लगाएको धान कामै नलाग्ने गरी उम्रिएको उहाँले बताउनुभयो । धान उम्रिएपछि पशुलाई खुवाउनसमेत उपयुक्त नभएको स्थानीय प्रकाश ओलीले बताए । वर्षभरि खान पुग्ने धान नष्ट भएपछि परिवारको खाद्यान्न व्यवस्थापनमा समस्या पर्ने उनको भनाइ छ ।
'वर्षभरि दुःख गरेर लगाएको धान नोक्सान भएको छ,' उनले भने, 'यसअघि परेको पानीले खासै क्षति गरेको थिएन तर असोज २१ गते हावाहुरीसहित परेको मुसलधारे वर्षाले पाकेको धान ढलाएर नोक्सान ग¥यो ।'
धान काट्ने समयमा परेको वर्षा र खेतमा जमेको पानीका कारण किसानले बाली भित्र्याउन नपाउँदै क्षति बेहोर्नु परेको हो । खेतमा ढलेर उम्रिएको धान काटेर किसानले सडक तथा बाटोमा सुकाउन थालेका छन् तर धानको गुणस्तर घटेकाले बिक्री गर्न कठिन हुने किसानको चिन्ता छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले हावाहुरी र वर्षाका कारण पाकेको धानबाली ढलेर नोक्सान भएको बताए । उनका अनुसार जिल्लामा करिब ३० प्रतिशत धानबालीमा क्षति पुगेको छ ।
जिल्लाभर भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न स्थानीय तहसँग तथ्याङ्क माग गरिएको उनले जानकारी दिए । स्थानीय तहबाट विवरण प्राप्त भएपछि धानबालीमा भएको क्षतिको विस्तृत अवस्था स्पष्ट हुने कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार