Listen LIVE

बाँकेमा एक सय छ्यालिस जना नयाँ कुष्ठरोगी भेटिए

नेपालगञ्ज : बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०र८१ मा १४६ जना नयाँ कुष्ठरोगी निदान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । 

नेपालगञ्जमा आयोजित ‘सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक’मा साइनिङ अस्पताल आइएनएफ प्रमुख मंगल बहादुर थारुका अनुसार नयाँ निदान भएका कुष्ठरोगीमा बाँकेका ८४ जना, बर्दिया २४, भारतका २१ जना, रोल्पा ५, दैलेख ४ र सुर्खेतका १ जना छन् । निदान भएका मध्ये ३९ प्रतिशत बिरामीहरूमा कुष्ठरोगको किटाणु पोजिटिभ रहेको थारुले जानकारी दिए । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई बिस्तार गर्दै पश्चिम क्षेत्रकै कुष्ठरोग प्रेषण केन्द्रका रुपमा आफूलाई स्थापित गरिरहेको थारुको भनाई छ । 

यो अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत १७ हजार २ सय ६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ । अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका गतिविधि गरिरहेको थारुले जानकारी दिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, सेवाग्राही गुलाम हसमत साई लगायतले साइनिङ अस्पताल आइएनएफले कुष्ठरोग लगायत विभिन्न छालाजन्य रोगहरूको निदान र उपचारमा खेलेको भूमिकाको सराहना गरेका थिए । 

आइएनएफ बाँकेका प्रशासन प्रमुख नरेन्द्र साउदले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन पत्रकार भेषराज बस्नेतले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायत सरोकारवालाको उपस्थिति थियो ।

प्रतिक्रिया