बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जस्थित घडियाल गोही प्रजनन केन्द्रमा ३१९ वटा घडियाल गोहीका बच्चा हुर्किएका छन् । तीमध्ये ५३ वटा प्राकृतिक वासस्थानमा छाडिएको निकुञ्जले जनाएको छ ।
२०३९ सालमा स्थापना भएको प्रजनन केन्द्रमा २०६३ सालमा पहिलो पटक घडियाल गोहीका बच्चा कोरलिएका थिए । त्यसयता निरन्तर प्रजनन हुँदै आएको छ भने २०७४ सालमा पहिलो पटक हुर्काइएका घडियाललाई प्राकृतिक वासस्थानमा छाडिएको थियो ।
निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेका अनुसार प्रजनन केन्द्रमा हाल २६६ बच्चा र ११ वयस्क घडियाल गरी २७७ वटा घडियाल गोही रहेका छन् । वयस्कमध्ये प्रजननयोग्य दुई भाले र चार पोथी रहेका छन् ।
उनका अनुसार घडियालका बच्चालाई प्राकृतिक वातावरणमा बाँच्न सक्ने अवस्थामा पुगेपछि नदीमा छाड्ने गरिन्छ । हाल करिब ६० वटा घडियाल प्राकृतिक वासस्थानमा छाड्नयोग्य भइसकेका छन् । तिनको स्वास्थ्य, आहारा खोज्ने क्षमता र अनुकूलन अवस्थाको मूल्याङ्कनपछि नदीमा छाडिने उनले बताए ।
यस वर्ष मात्र प्रजनन केन्द्रमा ९६ वटा घडियालका बच्चा जन्मिएका छन् । निकुञ्जको तथ्याङ्क अनुसार २०६३ सालमा २२, २०७४ सालमा १०, २०७९ सालमा ३८, २०८० सालमा ६२, २०८१ सालमा ३२ र २०८२ सालमा ७० वटा बच्चा हुर्किएका थिए । प्रजनन केन्द्र स्थापना गर्दा तत्कालीन अवस्थामा चितवनबाट दुई भाले र नौ पोथी गरी ११ वटा घडियाल गोही ल्याइएको थियो । तीबाट नै अहिलेको प्रजनन कार्यक्रम सञ्चालन हुँदै आएको निकुञ्जले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामले प्रजनन केन्द्रमा हुर्काइएका घडियाललाई प्राकृतिक वासस्थानमा बाँच्न सक्ने अवस्था पुगेपछि नदीमा छाडेर प्राकृतिक सङ्ख्या वृद्धि गर्ने उद्देश्यसाथ कार्यक्रम सञ्चालन भइरहेको बताए ।
घडियाल गोही स्वच्छ पानी र ताजा माछामा निर्भर रहने दुर्लभ तथा संरक्षित वन्यजन्तु हो । यसको संरक्षणका लागि वासस्थान व्यवस्थापन, चोरीसिकारी नियन्त्रण तथा नदी प्रणालीको संरक्षणलगायतका कार्यक्रम सञ्चालन भइरहेको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ । सरकारले वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरेको छ ।
घडियाल गोही प्रजनन केन्द्र पर्यटकको आकर्षणको केन्द्रसमेत बनेको छ । केन्द्रमा घडियालका अतिरिक्त मगर गोही र विभिन्न प्रजातिका कछुवा पनि अवलोकन गर्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने अधिकांश पर्यटकले प्रवेशसँगै यस प्रजनन केन्द्र अवलोकन गर्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार