Listen LIVE

हुलाकी सडक विस्तार पाँच सयभन्दा बढी रुख कटान गरिने

दाङ : दाङको देउखुरी क्षेत्रमा हुलाकी सडक विस्तार प्रक्रिया अघि बढेको छ । राजपुर गाउँपालिकाको गङ्गदीदेखि दाङ र बाँके जिल्लाको सीमाक्षेत्र हाडबाससम्मको २२ किलोमिटर सडक विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सडक विस्तारको प्रक्रिया शुरु भएको हो ।  

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले सडक विस्तारका लागि करिब तीन अर्ब रुपैयाँको स्रोत व्यवस्थापन भएसँगै हुलाकी सडकअन्तर्गत दाङमा बाँकी रहेको सडक विस्तारको काम शुरु भएको जानकारी दिए । कार्यालय प्रमुख भण्डारीका अनुसार सडक विस्तारका लागि ठेक्का प्रक्रियासँगै सडक सीमाभित्र पर्ने रुख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ । 

गङ्गदीदेखि हाडबाससम्मको सडक विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सडक सीमाभित्र पर्ने ५३० देखि ४० वटासम्म रुख कटान गर्नुपर्ने देखिएको छ । त्यसका लागि सम्बन्धित वन कार्यालयमार्फत रुख गणना तथा चिह्न लगाउने कामका लागि स्वीकृति लिने काम भइसकेकाले एक, दुई दिनमा रुख गणना र सडक क्षेत्रमा पर्ने कटान गर्नुपर्ने रुखमा चिह्न लगाउने काम शुरु हुनेछ । 

गणनासँगै चिह्न लगाउने काम सकिएपछि सब डिभिजन कार्यालय गङ्गदीले डिभिजन वन कार्यालय लमही, डिभिजन वन कार्यालयले प्रदेश तथा सङ्घीय वन मन्त्रालयबाट स्वीकृति लिएर रुख कटानको काम अघि बढाइने छ । उक्त सडकखण्ड अन्तर्गत आठ वटा सामुदायिक वनक्षेत्र पर्ने भएकाले वनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न समन्वय भइरहेको आयोजनाले जनाएको छ । असार मसान्तभित्र ठेक्का आह्वान गर्ने र आगामी आर्थिक वर्षको असोज महिनादेखि सडक विस्तारको काम सुरु गर्ने तयारी भइरहेको प्रमुख भण्डारीले बताए । 

सडक विस्तारसँगै विभिन्न खोलानालामा १७ वटा पुल निर्माण गर्ने गरी डिपिआर तयार भइसकेको छ । गङ्गदी, वनकट्टी, लैबरुवा, सिक्टा, राताकाँस गल्चु, करुवाखोला हुँदै हाडबासम्म सडक निर्माणको काम हुने छ । राजपुर गाउँपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका हुलाकी सडक निर्माण सङ्घर्ष समितिका अध्यक्ष पुष्कर वलीले लामो समयदेखि निर्माण हुन नसकेको गङ्गदी–हाडबास सडक खण्डको काम अघि बढ्न थालेपछि स्थानीय खुसी भएको बताए । हुलाकी सडक निर्माण भएपछि स्थानीयलाई सहजतासँगै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग हुने छ ।  

दाङमा हुलाकी सडक निर्माण २०७६ सालदेखि शुरु भएको थियो । हुलाकी सडक अन्तर्गत गढवा–राजपुर सडकखण्डमा २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने गढवा–कालाकाटे सडकखण्डमा कालोपत्रे गर्ने भइरहेको छ । हुलाकी सडक निर्माण भएपछि दाङको कालाकोटबाट गढवा–राजपुर हुँदै बाँकेको नेपालगञ्ज पुग्न सकिने छ ।

प्रतिक्रिया