Listen LIVE

बर्दियाबाट समस्याग्रस्त चितुवा नियन्त्रणमा

बर्दिया : बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा लिइएको छ । गुलरिया नगरपालिका वडा २ कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको वस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिइएको हो । 

कृष्णसार, गौशाला र स्थानीय वस्तीमा चितुवाले आतङ्क मच्चाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो । पाँच दिन अगाडि थापेको पासोमा चितुवा परेको हो । पासोमा वयस्क पोथी चितुवा परेको थियो ।

चितुवालाई पासोबाट निकालेर सुरक्षित स्थानमा पठाउने तयारी भइरहेको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी रामु केसीले बताए । केही दिनअघि  स्थानीयवासीको भैंसीलाई लागि आक्रमण गरेको र मानिसलाई आक्रमणको प्रयास गरेपछि पासो राखेको उनले बताए ।

चालु आर्थिक वर्षमा कृष्णसार संरक्षण क्षेत्रमा २१ वटा कृष्णसार मरेका छन् । जसमध्ये १० वटा कृष्णसार चितुवाको आक्रमणबाट मरेको सूचना अधिकारी केसीले बताए ।

प्रतिक्रिया