Listen LIVE

नाकामा खटिएका सुरक्षाकर्मीलाई रेनकोट र छाता वितरण

नेपालगञ्ज : मनसुनका बेला सीमा सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा निरन्तर खटिने नेपाल प्रहरी र ट्राफिक प्रहरीका ५३ जना सुरक्षाकर्मीलाई रेनकोट र छाता वितरण गरिएको छ।

गणपती डेन्टल क्लिनिक, नेपालगञ्ज र रोशन मेटल क्राफ्ट इन्डस्ट्रिज, नेपालगञ्जको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यालय जमुनाहाको सहकार्यमा शुक्रबार आयोजित कार्यक्रममा २० वटा रेनकोट र ३३ वटा छाता हस्तान्तरण गरिएको हो।

कार्यक्रममा गणपती डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतीक श्रेष्ठले प्रतिकूल मौसमका बाबजुद सीमा सुरक्षा, अवैध आवतजावत नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक सेवामा अहोरात्र खटिने सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए।

उनले नेपाल–भारत सीमा क्षेत्रस्थित जमुनाहा नाका मुलुककै व्यस्त र संवेदनशील सीमावर्ती नाकामध्ये एक रहेको उल्लेख गर्दै त्यहाँ कार्यरत सुरक्षाकर्मीले घाम, वर्षा र हिलोको कुनै पर्वाह नगरी राष्ट्रको सुरक्षा र नागरिक सेवामा समर्पित भएर जिम्मेवारी निर्वाह गरिरहेको बताए।

'हामीले गरेको यो सहयोग ठूलो होइन। राष्ट्र र नागरिकको सुरक्षामा निरन्तर समर्पित सुरक्षाकर्मीप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास मात्र हो,' डा. श्रेष्ठले भने।रोशन मेटल क्राफ्ट इन्डस्ट्रिजका सञ्चालक तथा समाजसेवी रोशन मलिक जसगरले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको बताउँदै मनसुनका बेला कठिन परिस्थितिमा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई केही राहत र सहजता पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको जानकारी दिए।

सामग्री हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले आयोजक संस्थाप्रति आभार व्यक्त गरे। उनले निजी क्षेत्रबाट हुने यस्ता सहयोगले सुरक्षाकर्मीको मनोबल अभिवृद्धि गर्नुका साथै समुदाय र प्रहरीबीचको आपसी विश्वास तथा सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए।

आयोजकका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समुदाय लक्षित यस्ता समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिइनेछ।

कार्यक्रममा स्थानीय समाजसेवी, प्रहरी अधिकृत तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया