नेपालगञ्ज : बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य शुरु भएको दुई दशकको अवधीमा सो आयोजनाबाट जिल्लाको २५ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजना शुरु भएदेखि हालसम्मको कुल खर्च २४ अर्ब रुपैयाँ पुगेको जानकारी दिँदै सो लगानीमा हालसम्म जिल्लाको २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताए ।
उनले बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य लिएकोमा आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म २५ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पु¥याएको जानकारी दिए ।
आयोजनाका निर्देशक आचार्यले आयोजनाको काम शुरु भएको दुई दसक बितिसक्दा हालसम्म ५० प्रतिशत भौतिक प्रगति हासिल भएको भएपनि आकासे पानीको भरमा मात्र खेती गर्ने जिल्लाका किसानको २५ हजार बढी हेक्टरमा सिँचाइ सुविधा पुग्दा खेती गर्न सहज भएको बताए ।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहका अनुसार २०६४ सालमा स्वीकृत पहिलो गुरुयोजनाअनुसार १२ अर्ब ८० करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७०/७१ मा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणकै क्रममा सरकारले थप नौ हजार हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माणलगायत अन्य संरचना थप गरियो ।
आर्थिक वर्ष २०७१/७२ मा संशोधित स्वीकृत गुरुयोजनाले २५ अर्ब २ करोडमा आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
संशोधित गुरुयोजनाको लक्ष्यअनुसार आर्थिक वर्ष २०७६/७७ मा पनि आयोजनाले पूर्णता पाएन । पछिल्लो पटक २०७९ मा स्वीकृत गुरुयोजनाअनुसार आयोजनाको सम्पूर्ण काम ५२ अर्ब ८९ करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सूचना अधिकारी साहले बताए ।
आयोजनाको काम समयमै सम्पन्न गर्न जिल्लास्थित सरोकारवालाले पटकपटक सरकार र आयोजना कार्यालयको ध्यानाकर्षण गराउँदै आएका छन् । नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले आयोजनाको काम छिटो सम्पन्न गरेर बढी भन्दा बढी किसानलाई पानी उपलब्ध गराउनुपर्ने बताए । उनले आयोजनाको काममा भइरहेको ढिलाईले गर्दा किसानलाई बर्षमा तीन वटासम्म बालि लगाउन नपाउने अवस्था रहेको बताए ।
सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले काम छिटो सकेर किसानलाई सिँचाइ सुविधा पु¥याउन आफू लागिपरेको बताए । विगतमा नेता, मन्त्री, कर्मचारीका कारण आयोजनाले गति लिन नसकेको उनको भनाइ छ । उनले थपे, 'विगतमा मन्त्री फेरिनेबित्तिकै आफूअनुकूल आयोजना निर्देशक पठाउने प्रवृत्ति चल्यो, सरकारले कहिले त आवश्यक बजेट पनि दिएन, कहिले बजेटअनुसारको काम पनि गतिलो भएन, यस्तैयस्तै कारणले नै सिक्टाको निर्माण धकेलिँदै गएको हो ।'
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार