नेपालगञ्ज : नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रणसँगै ग्राहकका गुनासा सुन्ने र समस्या समाधान गर्ने अभियान सञ्चालन गरेको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार विद्युत् चुहावटको अवस्था पहिचान गर्नुका साथै ग्राहकका समस्या समाधान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा सुरुवातमै २१ थान बेवारिसे मिटर फेला परेको उनले जानकारी दिए । तीमध्ये खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा १६ र नेपालगञ्ज उपमहानगरपालिकामा पाँच थान बेवारिसे मिटर भेटिएको उनले बताए ।
बेवारिसे मिटरबाट तीन लाखभन्दा बढी युनिट विद्युत् खपत भएको पहिचान गरी त्यसलाई राजस्व दायरामा ल्याउने र लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्रमुख मिश्रले जानकारी दिए ।
अभियानका क्रममा विभिन्न स्थानमा मिटर जडान नगरी घर तथा खेतमा विद्युत् प्रयोग भइरहेको समेत भेटिएको उनले बताए । चुहावट नियन्त्रण कार्यक्रम प्रभावकारी बन्दै गएसँगै विद्युत् चुहावट घट्नुका साथै राजस्व सङ्कलनमा समेत वृद्धि भएको उनको भनाइ छ ।
वितरण केन्द्र प्रमुख मिश्रका अनुसार चुहावट नियन्त्रणसँगै ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
उनले आवश्यकता भएका स्थानमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता वृद्धि र नयाँ लाइन विस्तारका कामसमेत तीव्ररूपमा भइरहेको बताए ।
यसैगरी नेपाल विद्युत् प्राधिकरण उपवितरण केन्द्र खजुराका प्रमुख दिनेश वली नेतृत्वको टोलीले पनि अभियानअन्तर्गत गाउँ–गाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत् प्रयोगको अनुगमन तथा सेवा सुधारका काम गरिरहेको छ ।
सो क्रममा ग्राहकहरूले विद्युत् आपूर्तिसम्बन्धी विभिन्न समस्या र गुनासा राखेको उपवितरण केन्द्र खजुराका प्रमुख वलीले बताए । ग्राहकका समस्या सुनेपछि पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको उनले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार