Listen LIVE

नेपालगञ्ज नाकामा आयात–निर्यात दुबै बढ्यो

नेपालगञ्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा आयात करिब १३ प्रतिशत र निर्यात करिब १० प्रतिशतले वृद्धि भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आवमा यस नाकाबाट ८७ अर्ब नौ करोड चार लाख ५३ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ७७ अर्ब ५७ करोड ७३ लाख ६२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात १० अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट तीन अर्ब ५१ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आवमा ३ अर्ब २० करोड ८२ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवमा निर्यात करिब ३१ करोड रुपैयाँले बढेको हो ।

नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेका तथा नदलेका दाल, कपडा, मकै, अन्य खाद्यान्न, चिनी, तरकारी तथा फलफूललगायत विभिन्न मेसिनरी सामान रहेका छन् ।

यसैगरी निर्यात हुने प्रमुख वस्तुमा जडीबुटी, खोटो (रोजिन), तार्पिन तेल, काजुको बोक्रा, अदुवा, सुठो, खरेटोरकुचो, बहुमूल्य पत्थर, सिलाजित पेस्ट र सिमेन्ट रहेका छन् ।

भन्सार प्रमुख पौडेलका अनुसार खयर, कत्था, वनस्पतिजन्य सार, एसेन्सियल आयल, रिठ्ठा तथा नौनी घ्युको निर्यातसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ ।

उनले आयात–निर्यात दुवै बढे पनि राजस्व सङ्कलन भने अघिल्लो आवको तुलनामा केही घटेको बताए । गत आवमा नेपालगञ्ज भन्सार कार्यालयले २० अर्ब ११ करोड ५५ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा भने २० अर्ब २८ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया