Listen LIVE

बर्दियामा सडकबत्तीका ब्याट्री चोरी

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत आनन्दनगर, महेन्द्रनगर र भानुभक्त टोलका सडकमा जडान गरिएका सौर्यबत्तीका ३८ वटा ब्याट्री चोरी भएका छन् । 

सौर्यबत्ती नचल्दा स्थानीयवासी रातिको आवतजावतमा समस्या भोग्न बाध्य भएका छन् । सामुदायिक वनसँग जोडिएका ती बस्तीमा सडक अन्धकार बनेसँगै वन्यजन्तुको जोखिमसमेत बढेको स्थानीयले बताएका छन् । सहरी सघन तथा भवन डिभिजन कार्यालय बाँकेले आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारको सदरमुकाम विकास परियोजना अन्तर्गत सडक निर्माणसँगै ती सौर्यबत्ती जडान गरेको थियो तर पछिल्लो समय सबै ब्याट्री चोरी भएपछि अधिकांश सडकबत्ती सञ्चालनविहीन बनेका छन् ।

आनन्दनगरका स्थानीय रामबहादुर रानाका अनुसार सडकबत्ती नबल्दा विशेष गरी रातिको समयमा सामुदायिक वनबाट चितुवा तथा अन्य वन्यजन्तु बस्तीनजिक आउने जोखिम बढेको छ । उनले सौर्यबत्ती जडान गर्दा धेरै स्थानमा अत्यन्त नजिक नजिक राखिएको र आवश्यक स्थानान्तरणका लागि पटक पटक आग्रह गर्दा सम्बन्धित निकायले बेवास्ता गरेको बताए ।

गुलरिया–९, महेन्द्रनगरका स्थानीय शोभा थापाले बजारक्षेत्रमै रहेका सौर्यबत्तीका ब्याट्री चोरी हुँदा पनि चोरीमा संलग्न व्यक्ति पत्ता नलाग्नु चिन्ताको विषय भएको बताए । उनका अनुसार सडक अन्धकार बनेपछि सर्वसाधारणमा असुरक्षाको भावना बढेको छ ।

गुलरिया नगरपालिकाले सडक निर्माणपछि सौर्यबत्तीको स्वामित्व स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण नगरिएकाले मर्मतसम्भार र व्यवस्थापनमा अन्योल रहेको जनाएको छ । तत्कालीन सङ्घीय आयोजना कार्यान्वयन एकाइ बाँकेको नाम परिवर्तन भई हाल सघन सहरी तथा भवन निर्माण आयोजना भएको छ । 

आयोजनाका इन्जिनियर विजय खनालले घटनासम्बन्धी विवरण पुराना अभिलेखसँग सम्बन्धित भएकाले फाइल अध्ययन गरेपछि मात्र थप जानकारी दिन सकिने बताए । स्थानीयका अनुसार सामुदायिक वनक्षेत्रमा पछिल्ला दिनमा दिउँसै चितुवा देखिन थालेको र चितुवा गर्जने गरेकाले सडकबत्ती नचल्दा जोखिम अझ बढेको छ ।

प्रतिक्रिया