यदुराज मिश्र / नेपालगञ्ज : नेपालीहरूको महान् पर्व दसैँ र दीपावली नजिकिएसँगै बाँकेका कुम्हार समुदायलाई माटोको दियो र भाँडाकुँडा बनाउन चटारो भएको छ ।
दीपावलीका बेला बजारमा आधुनिक विद्युतीय सामग्रीहरूको प्रयोग बढे पनि माटोको दियोको धार्मिक तथा सांस्कृतिक महत्त्व उत्तिकै रहेकाले यसको माग उच्च हुने गरेकाले माटोको दियो र भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
बाँकेका अधिकाँश कुम्हार समुदायले अहिले दिनरात नभनी माटोको दियो र भाँडाकुँडा बनाउन व्यस्त भएको नेपालगञ्जका सामाजिक अगुवा विष्णुलाल कुमालले बताए ।
मधेसी समुदायमा दीपावलीका समयमा माटोको दियो नै बाल्ने परम्परा रहेकाले यतिबेला नेपालगञ्जका कुम्हारहरू दिनभरि नै माटो मुछ्ने र दियोलाई आकार दिन व्यस्त बनेका छन् ।
बिष्णुलाल कुमालका अनुसार कुम्हार समुदायका दर्जनभन्दा बढी परिवारहरू अचेल रातको २ बजेदेखि नै उठेर दिनभर यो काममा जुट्ने गरेका छन् । यस सिजनमा एकै परिवारले १ लाखदेखि ५ लाख वटासम्म दियो तयार पार्ने लक्ष्य राखेका छन् भने यसबाट प्रतिपरिवार कम्तिमा १ लाखदेखि ३ लाख रूपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ ।
तयार पारिएका दियोहरू लिन कतिपय ग्राहक तथा व्यापारीहरू घरमै पुग्ने गरेका छन् भने कतिपयले नेपालगञ्जको त्रिभुवन चौकमा लगेर बिक्री गर्ने गरेका छन् ।
आधुनिकताको प्रभावकाबिच पनि परम्परागत माटोको दियोको माग कायमै रहँदा स्थानीय कुम्हार समुदायमा उत्साह छाएको कुमालको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार