नेपालगञ्ज : नेपालगञ्जमा बडा दशैँ २०८३ को सातौँ दिन अर्थात् फूलपातीका शुभ अवसरमा शनिवार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्य शोभायात्रा तथा फूलपाती भित्र्याउने कार्यक्रम सांगीतिक र धार्मिक उल्लासका साथ आयोजना गरिएको छ ।
नेपाल टुरिजम रिसर्च एण्ड इनोभेसन (नेपाल ट्रिप), नेपालगन्ज, बाँकेको आयोजनामा शनिबारका दिन परम्परागत रीतिरिवाज र सांस्कृतिक रौनकका साथ यो भव्य कार्यक्रम आयोजना गरिएको हो ।
नेपालगञ्जको ऐतिहासिक तथा धार्मिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस शोभायात्रामा बाँके जिल्लाभरका प्रमुख धार्मिक तथा सांस्कृतिक संघ–संस्थाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार, कार्यक्रममा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, राप्तीसोनारीको मुँवर भवानी मन्दिर व्यवस्थापन समिति, खजुराको लक्ष्मी नारायण मन्दिर तथा मनकामना मन्दिर व्यवस्थापन समिति, नरैनापुरको सन्तानेश्वर मन्दिर व्यवस्थापन समिति र कोहलपुर पिपरीको कालिका मन्दिर व्यवस्थापन समितिको सहभागिता रहेको थियो ।
साथै, बाँके कला केन्द्र, गुल्मेली भजन समूह तथा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका दुर्गा पुजा धार्मिक तथा सांस्कृतिक समूहहरूको समेत विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ ।
बडा दशैँको पावन अवसरमा परम्परागत धर्म, संस्कृति, सामाजिक सद्भाव र भ्रातृत्वलाई सुदृढ बनाउने लक्ष्यका साथ शोभायात्रा निकालिएको आयोजक संस्था नेपाल ट्रिपले जनाएको छ ।
कार्यक्रमबारे प्रकाश पार्दै नेपाल ट्रिपका अध्यक्ष श्रीराम सिग्देलले जिल्लाका सबै मुख्य धार्मिक केन्द्रहरूलाई एकीकृत गरी बडा दशैँमा यसरी सामूहिक रूपमा फूलपाती भित्र्याउने परम्पराले स्थानीय धार्मिक पर्यटनलाई टेवा पुर्याउने र यसैका माध्यमबाट क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरे ।
झाँकी, भजन–कीर्तन र सांगीतिक माहौलसहित निकालिएको यो शोभायात्राले नेपालगञ्ज बजार क्षेत्रको वातावरणलाई उत्सवमय बनाएको थियो । विभिन्न मन्दिरबाट ल्याइएको फूलपातीलाई बागेश्वरीका मूल महन्त चन्द्रनाथ योगीले स्वागत अनुष्ठान गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार