Listen LIVE

अत्यधिक गर्मीले बाँकेको जनजीवन प्रभावित

नेपालगञ्ज : तातो हावा, लु र भिषण गर्मीले बाँकेको जनजीवन प्रभावित भएको छ । बढ्दै गएको तापक्रम र शरीर पोल्ने घामका कारण जिल्लाको जनजीवन केही दिनयता प्रभावित बनेको हो । अत्यधिक गर्मीका कारण दिउँसो घरबाट बाहिर निस्कनेहरु नेपालगञ्जमा घटेका छन् । स्थानीय बजार दिउँसो सुनसान देखिन थालेको छ । विहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् ।

अत्यधिक गर्मीले घरबाट बाहिर निस्किँदा चक्कर लाग्ने र दिनभरि टाउको दुख्ने गरेको विपी चोक निवासी राजेन्द्र थापाले बताए । असह्य गर्मी तथा चर्को घामले गर्दा बालबालिका विरामी पर्न थालेपछि नेपालगञ्ज, कोहलपुर, खजुरा, बैजनाथ र जानकीका सबै विद्यालय एक साता बन्द गरिएका थिए । पालिकाले दिएको विदा समाप्त भएर फेरि बिद्यालय सुचारु भए पनि गर्मी भने ज्युँ का त्युँ छ ।

गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा नेपालगन्ज लगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताए । उनले एकातर्फ अर्कोतर्फ विद्युत वितरणमा समस्याले सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताए । विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ ।

वितरण केन्द्र नेपालगञ्जका प्रमुख संजयकुमार मिश्रले स्थानीय स्तरमा विद्युत नियमित पार्न धेरै काम गरेको जनाउँदै, कहिलेकाँही सिस्टम एवं सर्किट फेल हुने र माथिबाटै सप्लाइ नहुने हुँदा समस्या भएको बताए । गर्मी बढ्दै गएपछि बजारमा फलफुल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री बढेको छ । प्रचण्ड गर्मीले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया