दाङ : दाङको गौरवका रूपमा रहेको बेलझुण्डी रंगशाला संरक्षणमा चुनौती बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा करिब छ वर्षअघि राष्ट्रिय खेलकुद परिषद्को करिब २४ करोड २४ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको रंगशाला संरक्षणका लागि आवश्यक जनशक्ति र सरसफाइ सामग्री नहुँदा समस्या भएको हो ।
आधुनिक रंगशाला निर्माण गर्दा संरक्षणका लागि आवश्यक पर्ने घाँस काट्ने मेसिन र जनशक्तिको व्यवस्थामा ध्यान नदिँदा अहिले समस्या भएको छ । रंगशाला संरक्षण नहुँदा रंगशालामा रोपिएको बरमुडा दुबो मरिसकेको छ । बरमुडा दुवो मर्दा स्थानीयस्तरमा उर्मने घाँसले रंगशाला भरिने गरेको छ । त्यही घाँस समय समयमा काट्नुपर्छ तर घाँस काट्नका लागि मेसिन र जनशक्ति नहुँदा समस्या भएको खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार बताउँछन् ।
रंगशाला निर्माण भएपनि संरक्षणमा ध्यान नदिदा अहिले समस्या भएको भन्दै कार्यालय प्रमुख परियारले भने, ‘‘बेलझुण्डीमा त रंगशाला बन्यो तर बनेको रंगशाला संरक्षणका लागि आवश्यक पर्ने सामग्री र जनशक्ति नहुँदा समस्या भएको छ ।’’ खेलकुद विकास समितिसँग घाँस काट्ने मेसिनसमेत नहुँदा नेपाली सेनालगायतले प्रयोग गर्ने घाँस काट्ने मेसिन मागेर रंगशालाको घाँस काटेर खेल्नका लागि मैदान बनाउनुपर्ने अवस्था रहेको बताउँछन् ।
खेलकुद विकास समितिको आफ्नै आन्तरिक स्रोत नभएको र प्रदेश तथा केन्द्रस्तरबाट कुनै सहयोग नहुँदा भएको रंगशाला बचाउनसमेत धौँधौँ भइरहेको बताउँछन् । रंगशालामा विभिन्न समयमा हुने प्रतियोगिताबाट वार्षिकरूपमा ४० देखि ५० हजार रुपैयाँसम्म सङ्कलन हुने गरेपनि त्यो पैसा मैदानमा पानी चहार्दा लाग्ने विद्युत शुल्कमै ठिक्क हुने गरेको बताउँछन् ।
सधैभरी रंगशाला भाडामा जादैन उनले भने, ‘‘कहिलेकाही भाडामा जाने गरेको छ, त्योबाट सङ्कलन भएको पैसा कार्यालय व्यवस्थापन र मैदानमा पानी चहार्दा लाग्ने विद्युत शुल्क तिर्न ठिक्क हुन्छ, घाँस काट्ने मेसिन कसरी किन्ने !’’ उनका अनुसार रंगशाला भाडामा जाने अवस्था नभएको भए रंगशालामा पानी चहार्नसमेत समस्या हुने अवस्था छ । रंगशाला संरक्षणका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद्लगायत स्थानीय सरकारसँग पटक पटक आग्रह गरेपनि कतैबाट सहयोग मिल्न नसकेको उनको भनाइ छ ।
स्थानीय र प्रदेश सरकारबाट सहयोग भए रंगशालाका लागि थप पूर्वाधार विकास गर्दै व्यवस्थित गर्न हुन्थ्यो कार्यालय प्रमुख परियारले भने, ‘‘रंगशालाको पश्चिमतर्फ भिआइपी प्याराफिट बनेको छ, तर पूर्वतर्फ साधारण प्याराफिटमा बसेर खेल हेर्न सक्ने अवस्था छैन । त्यसलाई राम्रो बनाउन सके थोरै भएपनि दर्शकसँग शुल्क उठाम भन्ने हुन्थ्यो, अहिले त्यो पनि छैन ।’’ सरसफाईका लागि जनशक्ति र मेसिन नहुँदासमेत जेनतेन सवै लागेर खेल्न योग्य मैदान बचाएर राखिएको बताउँछन् ।
रंगशालामा फुटबल मैदानसँगै सिन्थेटिक ट्रयाक निर्माण गरिएको छ । प्यारापिटभित्र खेलाडीका लागि चेन्जिङ रुम, अफिस, कन्फ्रेन्स हल र रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । बेलझुण्डी रंगशालामा आठौँ राष्ट्रिय महिला फुटबल प्रतियोगिता र एथलेटिक्सका विभिन्न प्रतियोगिता भएपनि त्यसयता राष्ट्रियस्तरको कुनै प्रतियोगिता हुन सकेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार