Listen LIVE

६३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज–१७ थुकैला गाउँबाट ६३ ग्राम बढीको ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले थुकैला गाउँबाट गडियनपुरवातर्फ आउँदै गरेको यूपी ४० क्यू ८९२१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला रुपईडिहा नईबस्तीका ४० वर्षीय मोहम्मद रिजवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार रिजवानले अण्डरवेयरभित्र लुकाइछिपाई राखेको अवस्थामा ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका रिजवान, बरामद लागूऔषध तथा मोटरसाइकलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया