नेपालगञ्ज : बहुमूल्य जडीबुटीको सङ्कलन, भण्डारण, प्रशोधन र निर्यातका लागि नेपालगञ्ज प्रमुख व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाबाट सङ्कलन हुने यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी नेपालगञ्ज हुँदै भारत निर्यात हुने गरेका छन् ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट सङ्कलन हुने जडीबुटीको भण्डारण र निर्यातका लागि नेपालगञ्ज मुख्य केन्द्र बनेको बताए ।
'पहाडी जिल्लाबाट सङ्कलन हुने जडीबुटी नेपालगञ्ज ल्याएर भण्डारण तथा निर्यात गर्ने गरिएको छ,' उनले भने, 'पछिल्लो समय नेपालगञ्ज जडीबुटीको प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ ।'
डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका जिल्लाबाट सडक तथा हवाई मार्ग हुँदै जडीबुटी नेपालगञ्ज ल्याउने गरिएको शर्माले बताए । नेपालगञ्ज र आसपासमा जडीबुटी भण्डारणका लागि गोदाम तथा प्रशोधन केन्द्रसमेत सञ्चालनमा रहेको उनले बताए ।
जडीबुटी निर्यातमा भने विभिन्न समस्या रहेको शर्माले बताए । निर्यातका लागि आवश्यक कानुनी प्रक्रिया र प्रमाणीकरणमा ढिलाइ हुने, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइने तथा आधुनिक प्रशोधन र परीक्षण प्रयोगशालाको अभाव रहेको उनले बताए ।
'भारत निर्यात गर्दा क्वारेन्टाइन र गैरभन्सार अवरोधसमेत बेलाबेलामा आउने गरेका छन्,' उनले भने, 'यी समस्या समाधान गर्न सके जडीबुटीको निर्यात अझै बढाउन सकिन्छ ।'
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालगञ्ज नाकाबाट रु. ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । सो अवधिमा ३७ लाख ३ हजार ८ सय ६१ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालगञ्ज नाकाबाट रु. ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष २०८०/८१ मा रु. ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो ।
जडीबुटीको निर्यात बढेसँगै पश्चिम नेपालका किसान, सङ्कलक र व्यवसायी उत्साहित भएका छन् । नेपालगञ्ज नाका हुँदै जडीबुटीको कारोबार बढे पनि स्थानीयस्तरमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न नसक्दा यसको ठूलो हिस्सा कच्चा पदार्थकै रूपमा बाहिरिने गरेको व्यवसायीको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार