नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न आउने मतदाताले परिचय खुल्ने फोटोसहितको प्रमाणपत्र अनिवार्यरूपमा साथमा ल्याउनुपर्ने भएको छ ।
संघले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार हुने निर्वाचनमा सम्पूर्ण मतदाताले सरकारी निकायबाट परिचय खुल्ने आफ्नै फोटोसहितको कुनै एक प्रमाणपत्र लिएर मतदानस्थलमा उपस्थित हुनुपर्नेछ । तोकिएको प्रमाणपत्रमध्ये कुनै एक नल्याएमा मतदान कार्यबाट वञ्चित गरिने संघले जनाएको छ ।
संघका अनुसार मतदानका लागि नागरिकता प्रमाणपत्र, सरकारले जारी गरेको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, वाणिज्य, घरेलु तथा पालिकामा दर्ता भएको फोटोसहितको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयबाट जारी भएको पान नम्बरको प्रमाणपत्र वा नेपालगञ्ज उद्योग वाणिज्य संघले जारी गरेको फोटोसहितको सदस्यता प्रमाणपत्र देखाएर मात्र मतदानमा सहभागी हुन सकिने छ ।
संघका महासचिव भीमबहादुर रानाभाटले जारी गरेको सूचनामा निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउन मतदाताको परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको उल्लेख छ ।
संघले सबै मतदातालाई तोकिएको प्रमाणपत्रमध्ये कुनै एक अनिवार्य रूपमा साथमा लिएर मतदान गर्न आउन आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार