Listen LIVE

नेपालगञ्जमा चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगञ्ज : चालक र सहचालकको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जस्थित बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । चालक र सहचालकहरु शारिरिक स्वस्थसँगै मानसिक रुपमा समेत स्वस्थ हुनुपर्ने भएकोले निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम गरिएको हो ।

नेपालगञ्ज बसपार्कमा सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आँखा, कान र सामान्य स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । यात्रुको जिवन चालकको हातमा रहने भएकोले उनीहरु शारिरिक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्ने उनले बताए । 

'चालकहरु लामो समयसम्म सवारी साधन चलाउनुपर्ने हुन्छ । भोक र अनिद्राले आँखा तथा अन्य स्वास्थ्यमा असर पर्ने सम्भावना बढि हुन्छ,' उनले भने, 'चालक सम्पूर्ण रुपमा स्वस्थ रहेमात्र यात्रुको यात्रा सुरक्षित हुन सक्छ भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर राखिएको हो ।'

नेपाल नेत्रज्योति संघको फत्तेबाल आँखा अस्पताल, लुम्बिनी प्रदेश प्रहरी अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको सहकार्य तथा समन्वयमा भएको शिविरमा ९० जना चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले जानकारी दिए ।फत्तेबाल आँखा अस्पतालका सामुदायिक अधिकृत उमेर अहमद सादिकले आँखा राम्रो भएमात्र चालकले सुरक्षित रुपमा सवारी साधन चलाउन सक्ने भएकोले चालकहरुको आँखा जाँच गरेको बताए । 'सवारी साधन सहि रुपमा चलाउन चालकको दृष्टि राम्रो हुन अति आवश्यक छ,' उनले भने, 'दृष्टि कमजोर भए चालकले सही रुपमा सवारी चलाउन सक्दैन र दुर्घटनाको सम्भावना रहन्छ ।'

उनले शिविरमा आँखा जाँच गराएका चालकहरुलाई फत्तेबाल आँखा अस्पतालले निःशुल्क रुपमा औषधि प्रदान गरेको बताए । शिविरमा आँखासँगै सुगर, उच्च रक्तचाप (प्रेसर) जाँचसमेत गरिएको थियो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका कान सहायक भिषणकुमार थारुले चालक र सहचालकमा कानको समस्या देखिएको बताए । उनले शिविरमा ३७ जनालाई ओपिडी सेवा दिएकोमा ३ जनाको अप्रेशन गर्नुपर्ने समस्या देखिएको बताए । 'केहिमा कानेगुजीको समस्या देखियो । कान स्वस्थ भएमात्र चालकले सहि र सुरक्षित यात्रा गराउन सक्छन्,' उनले भने ।

जिल्ला प्रहरी कार्यालय, बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको संयुक्त आयोजनमा शिविर सञ्चालन भएको हो ।

प्रतिक्रिया