Listen LIVE

पुरानै ठाउँमा पाल टाँगेर बस्ने प्रयासमा कोहलपुरका सुकुम्बासी

नेपालगञ्ज : कोहलपुरको क्रिकेट मैदान आसपासबाट करिव ४ महिना अघि उठाइएका सुकुम्बासी पुरानै ठाउँमा पाल टाँगेर बस्ने प्रयास गरेका छन् ।

होल्डिङ सेन्टर र आसपासमा डेरा लिएर बसेका सुकुम्बासी परिवार आज बिहानैदेखि पुरानै ठाउँमा पाल टाँग्न जम्मा भएका थिए ।

सुकुम्बासीलाई पुरानो ठाउँमा बस्न नदिन ठूलो संख्यामा प्रहरी र कोहलपुर नगर प्रहरी परिचालन गरिएको थियो ।

गत बैशाख २६ गते कोहलपुर क्रिकेट मैदान अघिको नगर विकासको जग्गामा बसेका सुकुम्बासीलाई उठाइएको थियो । उनीहरुको घरमा डोजर चलाइएको थियो । एक महिनाभित्र नै बैकल्पिक बसोबासको व्यवस्था मिलाउने अधिकारीहरुको आश्वासनपछि त्यहाँ बसोबासीहरु बलजफ्ती नगरी निस्केका थिए ।

झण्डै चार महिना पुग्न थाल्दा पनि बैकल्पिक बसोबासको व्यवस्था नभएपछि सुकुम्बासीले केही दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । कोहलपुर नगरपालिका कार्यालय र नेपालगन्जमा आएर जिल्ला प्रशासन अगाडि धर्ना दिइसकेका छन् । सुकुम्बासीले जहाँ भएपनि छिटो बैकल्पिक व्यवस्था मिलाउन माग गरिरहेका छन् ।

सुकुम्बासी संघर्ष समितिका संयोजक बीरबहादुर परियारले बैशाख २६ गते उठाउने बेलामा प्रमुख जिल्ला अधिकारीले एक महिनाभित्र बैकल्पिक व्यवस्था गर्छाै भने पनि अहिलेसम्म सुनुवाई नभएपछि पुरानै ठाउँमा फर्किन थालेको बताए । उनले अहिले आफूहरुलाई पुरानै ठाउँमा पाल हालेर बस्न दिनु पर्ने र बैकल्पिक व्यवस्था भएपछि जहाँ पठाउँछन् त्यही जाने बताए ।

कोहलपुर नगरपालिकाले १ सय २१ घरपरिवारलाई होल्डिङ सेन्टरमा राखेको छ । अरु सुकुम्बासी आसपासमा डेरा र आफन्तको घरमा बसेका छन् । वि.सं. २०६३ सालदेखि क्रिकेट मैदान नजिकको नगर विकासको जग्गा कब्जा हुँदै आएको थियो । कतिपय दलालले त्यहाँ किनबेच गरेका छन् । केहीलाई नक्कली लालपूर्जा वितरण गरिएको थियो ।

कोहलपुर नगरपालिका र स्थानीय प्रशासनले सुकुम्बासीलाई फेरि पाल टाँगेर बस्न नदिने गरि सुरक्षाकर्मी परिचालन गरेका छन् ।

प्रतिक्रिया