Listen LIVE

बाँकेमा चित्तलको बच्चाको वन रक्षकसँग मित्रता

नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेअन्तर्गतको सशस्त्र सुरक्षा वन शाखाको कार्यालय परिसरमा राखिएको चित्तलको बच्चा सशस्त्र वन रक्षकहरूसँग रमाउने गरेको छ ।

केही दिनअघि मात्र जिल्लाको एक सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा ल्याइएको सो चित्तलको बच्चा अहिले सशस्त्र वन रक्षकहरूसँग रमाउन थालेको हो ।

चित्तलको बच्चालाई गत जेठ ११ गते जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारीस्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा लगाइएको थियो ।

करिब डेढ महिनाको भाले चित्तलको बच्चालाई आमाबिनाको टुहुरो अवस्थामा बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारीस्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा गत जेठ ११ गते कोहलपुर सब डिभिजन वन कार्यालयका डिभिजन वन रक्षक अर्जुन आचार्यको उद्धार टोलीले उद्धार गरी कार्यालयमा ल्याएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिए ।

“जङ्गल गएका स्थानीयको पछाडि लागेर बस्तीमा पसेको रहेछ, स्थानीयले कोहलपुर सब डिभिजन वन कार्यालयमा खबर गरेपछि त्यहाँबाट वन रक्षक अर्जुन आचार्यको उद्धार टोली पुगेर सकुशल उद्धार गरी जिल्लामा ल्याउनुभएको छ ।” सहायक वन अधिकृत शाहीले भने ।

उक्त बच्चा आफ्नो आमासँग बिच्केर स्थानीयको पछाडि लागेर गाउँसम्म आएको हुन सक्ने उनले बताए । अहिले सुरक्षा शाखाका कर्मचारीहरूसँग घुलमिल गरेर बसिरहेको उनले जानकारी दिए । उनका अनुसार सो बच्चा सशस्त्र वन रक्षकहरूले लगाएको ड्रेससँग अति नै घुलमिल हुने गरेको छ । “सामान्य पोसाक लगाएका मान्छेहरूसँग भाग्छ, नजिक जाँदैन । तर सशस्त्र वन रक्षकहरूले लगाएको हरियो कलरको ड्रेस लगाएका व्यक्तिहरूसँग भने नजिकै गएर लुटपुटिन्छ ।” शाहीले भने ।

उनका अनुसार उक्त चित्तलको बच्चा सानैदेखी मान्छेसँग बस्न बानी परेको हुनाले उक्त चित्तलको बच्चालाई तत्कालै पुनः आफ्नै प्राकृतिक वासस्थानमा छाड्न असुरक्षित भएको छ । “यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, सुरुदेखि नै हरेक दिन सशस्त्र वन सुरक्षा शाखाको ड्युटीले यसलाई खुवाउने गरेको हुँदा शाखाको युनिफर्मसँग राम्रो घुलमिल भएको छ । अब यसलाई पुनः जङ्गलक्षेत्रमा छाड्दा गाउँ बस्तीमा आउने र मान्छेको पछि लागेर जान सक्ने सम्भावना हुन्छ ।” उनले भने, मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुन सक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि केही समयसम्म यहीँ नै राख्नु पर्ने देखिन्छ ।”

उक्त चित्तलको बच्चालाई दैनिक बिहान, दिउँसो र साँझ गरेर दुईदेखि तीन लिटरसम्म भैँसीको दूध खुवाउने गरिएको छ । बढ्ने उमेर भएकाले खानाको परिमाण पनि दिनानुदिन बढेको हुँदा दैनिकरुपमा उसलाई खुवाइने दुधको मात्रा बढिरहेको शाहीको भनाइ छ ।

उद्धार गरेर ल्याइने जङ्गली जनावरहरूलाई पुनः जङ्गलमै व्यवस्थापन गरिँदै आएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । समस्याग्रस्त वन्यजन्तुहरूलाई उद्धार गर्ने र प्राकृतिक वासस्थानमा नै लगेर छाड्दै आएका छौँ ।” उनले भने, “अन्य क्षेत्रभन्दा नजिकै बाँके राष्ट्रिय निकुञ्ज भएका कारण निकुञ्जमा सुरक्षा हुने भएकाले निकुञ्जसँगको सहकार्यमा उद्धार गरिएका जनावरहरू निकुञ्ज क्षेत्रमै व्यवस्थापन गर्ने गरेका छौँ ।”

उद्धार गरेर ल्याइने जनावरहरूलाई पालनपोषण तथा रेखदेख गर्नका लागि अलग्गै कोष नहुँदा भने समस्या थपिएको शाहीको भनाइ छ । “कतिपय जनावरहरूलाई घाइते अवस्थामा उद्धार गरेर ल्याइन्छ, तिनीहरूको उपचार तथा खानपानका लागि अलग्गै कोष छैन, जगेडा कोषबाट खर्च गर्ने गरेका छौँ, अलि समस्या नै छ ।” उनले भने ।

जिल्लामा भएका अन्य सब डिभिजन वन कार्यालयमासमेत उद्धार गरेर ल्याइने जनावरहरूलाई राख्न तथा व्यवस्थापन गर्नका लागि वन्यजन्तु उद्धारसम्बन्धी न्यूनतम भौतिक संरचना हुनुपर्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वन सुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको उक्त उद्धार गरिएको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह भने सशस्त्र वन सुरक्षा शाखाले ड्युटी खटाई पालैपालो गर्ने गर्दछन् । बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने कार्यालय परिसरको सिमाना पुर्णरुपमा बन्द नभएका कारण दिउँसो कतै भागेर जान सक्ने भएको हुँदा दिनभरी केजमै राखेर हेरविचार गरिएको सशस्त्र वन सुरक्षा शाखाको भनाइ छ ।

प्रतिक्रिया