नेपालगञ्ज : बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित 'जीवनकालागि पोषण' परियोजनाअन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका उप–प्रधानाध्यापक दिपराज आरसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी (१२ छात्र र १८ छात्रा) को सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा पोषण, विद्यालय सरसफाइ, महिनावारी स्वच्छता, प्राथमिक उपचार, बाल क्लब परिचालन, विद्यालय दिवा खाजाको महत्व, किशोरीहरूका लागि आइरन तथा फोलिक एसिड सेवन, राष्ट्रिय पोषण सप्ताह, जुकाको औषधि सेवन तथा सकारात्मक व्यवहार परिवर्तन सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रमको सुरुवातमा विद्यालयकी शिक्षिका तथा बाल क्लब फोकल व्यक्ति सीता देवी बमले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् । त्यसपछि गनापुर स्वास्थ्य चौकीका पोषण फोकल व्यक्ति सुरेन्द्र प्रसाद गिरीले पोषण तथा स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रधानाध्यापक आरसीले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि उचित पोषण अपरिहार्य रहेको बताउँदै स्वस्थ भविष्य निर्माणका लागि सन्तुलित आहार, नियमित सरसफाइ तथा स्वस्थ जीवनशैलीलाई दैनिक अभ्यासमा उतार्नुपर्नेमा जोड दिए ।
त्यसैगरी विद्यालयकी बाल क्लब फोकल व्यक्ति शिला श्रेष्ठले सन्तुलित आहारमा दाल, भात र तरकारीसँगै हरियो सागसब्जी, गेडागुडी, फलफूल, दूध तथा आवश्यकताअनुसार अन्य पौष्टिक खाद्य पदार्थको नियमित सेवनले शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुने र दीर्घकालीन रूपमा स्वस्थ जीवनयापनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पोषण र स्वास्थ्यसम्बन्धी व्यवहारलाई आफ्नो दैनिक जीवनमा अपनाउने तथा प्राप्त ज्ञान परिवार र समुदायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बाँके युनेस्को क्लबका अनुसार विद्यालयस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमहरूले बालबालिका र किशोरकिशोरीमा स्वस्थ खानपान, सरसफाइ र पोषणसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार