जाजरकोट : अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ ।
शनिबार साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी स्थानीय ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगञ्ज रिफर गरिएका कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीका क्रममा फेला परेको छ । उनीहरूसहित मृत्यु हुनेको संख्या तीन पुगेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् । पहिरोपछि घरबाट निस्किएका हरिश सम्पर्कविहीन भएका रहेका छन् ।
पहिरोमा परी ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
पहिरोका कारण स्थानीय आठ वटा घरमा समेत ठूलो क्षति पुगेको छ । उद्धार टोलीले बेपत्ताको खोजी तथा क्षतिको विवरण संकलन गर्ने काम जारी राखेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार