नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि वडा तहबाट निवेदन सङ्कलन शुरु गरेको छ ।
लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका नागरिकको पहिचान, लगत अद्यावधिक तथा जग्गा व्यवस्थापन प्रक्रियालाई अघि बढाउने उद्देश्यले यो कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधानसम्बन्धी संयन्त्रको समन्वयमा पालिकाका सबै ६ वटै वडामा कर्मचारीको टोली परिचालन गरी निवेदन सङ्कलन शुरु गरिएको हो ।
उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी तथ्याङ्क अद्यावधिक गर्न र भूमि व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउन निवेदन सङ्कलन शुरु गरिएको बताए । अध्यक्ष चौधरीका अनुसार निवेदन सङ्कलनपछि प्राप्त विवरणका आधारमा वास्तविक लाभग्राहीको पहिचान तथा अभिलेखीकरण गर्न सहज हुने र आगामी दिनमा जग्गा व्यवस्थापन तथा लालपुर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले निवेदन दर्ताका लागि सम्बन्धित वडा कार्यालयमा उपस्थित हुन सबै योग्य नागरिकलाई आग्रह गरेको छ । निवेदनसँगै नागरिकता प्रमाणपत्र, परिवारका सदस्यहरूको विवरण, बसोबास पुष्टि हुने कागजात तथा आवश्यक अन्य प्रमाणसमेत पेश गर्नुपर्ने जनाइएको छ । निवेदन सङ्कलन कार्य सहज र प्रभावकारी रुपमा अघि बढेको डुडुवाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले जानकारी दिए ।
लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका स्थानीयवासीले निवेदन सङ्कलन सुरु भएपछि आफ्नो विवरण दर्ता गराउने क्रम बढेको गाउँपालिकाले जनाएको छ । यो निवेदन संकलनबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको वास्तविक अवस्था पहिचान हुनुका साथै व्यवस्थित अभिलेख तयार हुने विश्वास गरिएको डुडुवा कम्दीका स्थानीय राकेश मिश्रले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार