Listen LIVE

हुलाकी सडक जीर्ण हुँदा जोखिम बढ्यो

बर्दिया : बर्दियाको गुलरियादेखि राजापुरसम्म जोड्ने हुलाकी सडक ठाउँ ठाउँमा जीर्ण बनेको छ । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

गुलरिया बजारदेखि पश्चिम राजापुरसम्मको सडकमा ठुला खाडल परेका छन् । पटक पटक दुर्घटना हुँदा पनि सडक डिभिजन कार्यालयले मर्मत नगरेको स्थानीयको भनाइ छ । आवश्यक स्थानमा मर्मत नगरी राम्रो र सफा सडकमा मनलाग्दी मर्मत गर्ने गरेको आरोपसमेत उनीहरूको छ ।

गुलरिया नगरपालिका–१ अन्तर्गत पर्वतिया मन्दिर र शिवचोक क्षेत्रमा सडकमा खाडल परेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि मर्मत नभएको स्थानीयले बताएका छन् । घुमाउरो र आधाभन्दा बढी भाग जीर्ण रहेको उक्त सडकमा सवारीसाधन आधा भागबाट मात्र सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटनाको जोखिम झन् बढेको छ ।

खैरापुरका स्थानीय रामु भण्डारीले सडक जीर्ण भएको एक वर्षभन्दा बढी भए पनि मर्मत नहुँदा जोखिम बढेको बताए । गुलरिया नगरपालिका–१ का वडाध्यक्ष जोगीराम थारूले हुलाकी सडक अझै सडक डिभिजन कार्यालय, बाँकेकै मातहतमा रहेकाले मर्मतका लागि जानकारी गराइएको बताए ।

सडक डिभिजन कार्यालय, बाँकेका सूचना अधिकारी इन्जिनियर रामसागर हरिजनले यस विषयमा छलफल गरिने बताए ।

प्रतिक्रिया