यदुराज मिश्र/नेपालगञ्ज : तिहार लागेसँगै बाँकेका बजारमा चहलपहल निकै बढेको छ । झिलिमिली बत्तीले बजार र घरआँगन सजिन थालेका छन् । विद्युतीय बत्तीको प्रयोग बढ्दै गएपनि तिहारको परम्परागत पहिचान बोकेका माटाका दियो र भाँडाकुँडाको व्यापारमा समेत उत्साह देखिएको छ ।
बाँकेका विभिन्न क्षेत्रमा रहेका बजारमा यतिबेला माटाका दियो, कलश तथा अन्य भाँडाकुँडा किन्ने ग्राहकको चहलपहल बढेको छ । विशेष गरी तिहार र छठपर्वलाई लक्षित गरी माटाका सामग्रीको माग बढेपछि व्यवसायीलाई बिक्री गर्न भ्याइ नभ्याइ छ ।
नेपालगञ्जमा माटाका भाँडाकुँडाको व्यापार गर्दै आएका कमल कुमालले स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि अन्य ठाउँबाट समेत सामग्री मगाउनु परेको बताए । उनका अनुसार तिहार लागेसँगै माटाका दियोको माग उल्लेख्य रूपमा बढेको छ । दियोसँगै कलशलगायत पूजामा प्रयोग हुने सामग्री पनि ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।
तिहारका लागि माटाका दियो किन्न आएका नेपालगञ्ज १ धम्बोझीका अनुप श्रेष्ठले एक सयभन्दा बढी दियो किनेको बताए । विद्युतीय बत्तीले घर सजाउने चलन बढे पनि परम्परा अनुसार माटाका दियोमा बत्ती बाल्नुको महत्व छुट्टै रहेको उनको भनाइ छ ।
हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा तिहारको दीपावली र छठपूजामा माटाका दियो तथा भाँडाको विशेष महत्व छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गरी घरआँगनमा दियो बाल्ने चलनले माटाका दियोको माग बढाउने गरेको छ । विद्युतीय बत्तीले झिलिमिली बनाए पनि परम्परागत पूजाआजा र धार्मिक विधिमा माटाका दियोको प्रयोगलाई प्राथमिकता दिने गरिएको छ ।
माटाका सामग्रीको बढ्दो मागले परम्परागत पेशा अँगाल्दै आएका कुमाले समुदायको उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग पुगेको छ । साथै स्थानीय कला, सिप र परम्पराको संरक्षणमा समेत यस्तो व्यापारले योगदान पु¥याउँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार