नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभारस्थित नवप्रतिभा मध्यवर्ती महिला सामुदायिक उपभोक्ता समूहले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रानीमहलसहित आधुनिक पिकनिक पार्क निर्माण गर्ने भएको छ।
समूहकी अध्यक्ष भगवती शाहका अनुसार सामुदायिक वन क्षेत्रलाई संरक्षण गर्दै पर्यटक आकर्षित गर्ने योजनाअन्तर्गत पार्क निर्माणको काम अघि बढाइएको हो। पार्कमा प्राकृतिक वातावरणसँग मेल खाने विभिन्न संरचना निर्माण गरिनेछ, जसले स्थानीय तथा बाहिरी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पार्कभित्र रानीमहल, गोलघर, पिकनिक टहरा, कृत्रिम पानीको झरना, पानीको धारा, शौचालय लगायतका आवश्यक पूर्वाधार निर्माण गरिनेछ। साथै हरियाली वातावरण, विश्रामस्थल र पारिवारिक घुमफिरका लागि उपयुक्त संरचनासमेत थप गरिने योजना रहेको अध्यक्ष शाहले जानकारी दिइन्।
सामुदायिक वनलाई संरक्षणसँगै पर्यटनसँग जोड्ने उद्देश्यले अघि बढाइएको यस योजनाले बैजनाथ क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने, स्थानीय रोजगारी र साना व्यवसायलाई टेवा पुग्ने विश्वास गरिएको छ। पार्क निर्माण सम्पन्न भएपछि बानियाभार क्षेत्र पिकनिक, अवलोकन र मनोरञ्जनका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।
स्थानीय समुदायको सक्रिय सहभागिता र सामुदायिक वनको प्रभावकारी व्यवस्थापनमार्फत सञ्चालन हुन लागेको यो परियोजनाले बैजनाथ गाउँपालिकामा पर्यटन विकासको नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार