Listen LIVE

बाँकेका युवालाई रक्तदान गर्न पूर्वमन्त्री राईको आग्रह

नेपालगञ्ज : पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर रक्तदान गर्न बाँकेका युवाहरुलाई आग्रह गरेका छन् । रक्तदानभन्दा ठुलो दान अरु कुनै पनि नभएको प्रष्ट पार्दै उनले अन्य युवालाई पनि रक्तदान गर्न आग्रह गरे । 

बाँकेमा देखिएको रगत अभाव कम गर्न समाजवादी युवा सङ्घ बाँकेले डोनर समूहको समन्वयमा नेपालगञ्जमा गरेको रक्तदान कार्यक्रमका पूर्वमन्त्री राईले यस्तो आग्रह गरेका हुन् ।  

जनता समाजवादी पार्टीको भातृ सङ्गठन समाजवादी युवा सङ्घले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा ५१ जना युवाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल यादव, जसपाका जिल्ला अध्यक्ष दुर्गाप्रसाद बर्मा लगायतको उपस्थिति थियो ।

नेपालगञ्जमा रगत आवश्यकता भएकालाई दिनरात नभनी रगतको व्यवस्थापनमा खटिने डोनर ग्रुप, नेपालगञ्ज डोनर ग्रुप जस्ता समूहको कार्य अति नै प्रशंसनीय रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । 

सो केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जाडोको समयमा रगतको निकै अभाव हुने गरेकोले रक्तदान कार्यक्रममा तीव्रता दिन विभिन्न डोनर समूह र अन्य सङ्घसंस्थालाई निरन्तर अनुरोध गर्दै आएको बताए ।  

रगत अभावकै कारण विभिन्न समूहका रगत रक्तसञ्चार केन्द्रमा नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्त रगतका लागि निकै भौंतारिनुपर्ने अवस्था छ ।

प्रतिक्रिया