नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरोपी सेवा सुरु भएको छ । बहुप्रतीक्षित लिन्याक मेसिनद्धारा एक जना क्यान्सर पीडित बिरामीको सेकाई गरिएसँगै अस्पतालमा रेडियोथेरोपी सेवा पूर्णरुपमा सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहले जानकारी दिए ।
यसअघि सेकाई सेवा लिनका लागि भरतपुर, काठमाडौं तथा भारतको लखनउ जानुपर्ने वाध्यात्मक अवस्था थियो । लिन्याक मेसिन संचालनमा नआउँदा सेकाई सेवा लिनका लागि यसक्षेत्रका बिरामीलाई सकस हुँदै आएको थियो । बहुप्रतीक्षित लिन्याक मेसिन अस्पतालमा ल्याइएपनि सञ्चालन नहुँदा अस्पतालले आलोचना खेप्दै आएको थियो ।
लिन्याक मेसिन दुई वर्षअघि नै अस्पतालमा ल्याइएको थियो । तर विभिन्न स्वार्थ समूहको टक्रावका कारण लिन्याक मेसिन अस्पतालमै थन्किएको थियो । लिन्याक मेसिन क्यान्सरको उपचारका लागि अत्यावश्यक मेसिन हो । यसले क्यान्सरको उपचारमा प्रयोग हुने रेडिएसन प्रदान गर्छ ।
‘यो मेसिन सञ्चालनमा आएपछि क्यान्सरका बिरामीहरूलाई अप्रेसनपछि गरिने सेकाइ, अप्रेसन नगर्दै गरिने सेकाइहरूलाई सहज हुनेछ । अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेशन र सेकाइ यहींबाट हुनेछ,’ डा. साहले भने ।
नेपाल सरकारको अनुदान प्राप्त भएको र खरिद प्रक्रिया सुरु भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ्य मन्त्रालयको सहयोगमा मेसिन अस्पताल ल्याइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार