Listen LIVE

जानकीमा तीन दिने क्षमता अभिबृद्धि तालिम शुरु

नेपालगञ्ज : पोषण मैत्री र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा शुरु भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा स्थानिय सरकार र सरोकारवालाहरुका लागि क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बालवालिकाहरुलाई घरायसी काममा बढि प्रयोग गरिने भएकोले यसको रोकथाम गर्न सबै सरोकारवालाहरुको उत्तिकै भुमिका रहेको तालिमका प्रशिक्षक अशोक न्यौपानेले बताए । 

जानकीमा बालवालिका तथा पोषण कार्यक्रमलाई प्रथामिकतामा राख्न अभिभावकसंग शिक्षा कार्यक्रममा जोड दिन आवश्यक रहेको प्रशिक्षक न्यौपानेले बताए । गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकारसम्बन्धी जनचेतना मुलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया कार्यक्रम तथा प्रचारप्रसार व्यापक गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जानकीमा शिक्षाको कमीले बाल मैत्री तथा पोषण मैत्री पालिका हुन नसकेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत गाउँपालिकाको समुदायस्तरमा बालमैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनमा देखिएका चुनौतीहरूको बारेमा छलफल गराईएको थियो । 

सामाजिक विकास मञ्च बाँकेका अध्यक्ष चम्प सिंह थापा मगरको अध्यक्षतामा शुरु भएको तालिममा विभिन्न क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया