Listen LIVE

वडा प्रहरी कार्यालय नेपालगञ्जमा ५५० उजुरी

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जमा गत नौ महिनाको अवधिमा ५५० वटा उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले गत नौ महिनाको अवधिमा कार्यालयमा ५५० वटा विभिन्न उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरेर पठाइएको बताए ।

उनले सो अवधीमा घरेलु हिंसासम्बन्धी ३४ वटा उजरी दर्ता भएकोमा २८ वटा छिनोफानो भएको बताए ।

वडा प्रहरी प्रमुख बिसीका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जले साउन १ देखि जेठ २५ गतेसम्म ४८ लाख ५५ हजार १६५ रुपियाँ बराबरको भारतबाट भित्र्याइएको अवैध सामान बरामद गरेको छ ।

सो अवधिमा कार्यालयले आत्महत्या न्यूनीकरणसम्बन्धी सात वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै साइवर अपराधसम्बन्धी पाँच वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यसैगरी, लागूऔषध सम्बन्धी सात, बाल विवाह तथा बहुविबाह सम्बन्धी चार, मानव बेचबिखनसम्बन्धी तीन, लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियानअन्तर्गत १४, ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध एक, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी एक, एक पटक सरसफाइ कार्यक्रम र घरेलु हिंसा सम्बन्धी दुई वटा सचेतनामूलक कार्यक्रम गरिएको जनाइएको छ । ती कार्यक्रमबाट नौ हजार ४५ जना लाभान्वित भएको जनाइएको छ ।

वडा प्रहरी कार्यालयले करिव एक वर्षको अवधिमा अदालतबाट फैसला भई फरार रहेका २५ जनालाई पक्राउ गरेको छ भने पक्राउ परेकाबाट ६ वर्ष १ महिना २८ दिन कैद र ९३ हजार ६५६ रुपैयाँ जरिवाना असुल गरेको छ ।

चोरी, लुटपाट, झै–झगडा, कुटपिट, मादक पदार्थ सेवन, ठगी, सवारी दुर्घटना तथा अन्य मुद्दामा आवश्यक कार्बाहीका लागि २४१ जना र २० थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

सो अवधीमा ६ हजार ६ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको पनि जनाइएको छ ।

प्रतिक्रिया