सुर्खेत : शनिबार दिउँसो दैलेखको नौमुले गाउँपालिकाका सविन थापा वीरेन्द्रनगरमा सञ्चालन भइरहेको श्रमाधान रोजगार मेलामा भेटिन् । हुन त उनी वैदेशिक रोजगारीको सिलसिलामा विगत एक दशकदेखि मलेसिया जाने–आउने गरेकी छन् ।
ठुलो सवारी चालकका रूपमा मलेसियामा मासिक एक लाख ३० हजार रुपैयाँ कमाउँदै आएकी थापाको अब भने परिवारसँग स्वदेशमै बस्ने इच्छा छ । उनले भनिन् , ‘‘मैले विदेशमा जस्तो कमाइ नेपालमा खोजेको छैन, परिवारको साथैमा बसेर मासिक ४०÷५० हजार कमाइ हुने जागिर पाइयो भने अब विदेश जान्नँ, जागिर पाइन्छ कि भनेर रोजगार मेलामा आएको हुँ ।’’
थापाजस्तै मेला अवलोकन गर्न आएका अर्का युवा लक्षिराम विक पनि २५÷३० हजारको जागिर पाउने आशले मेलामा आएका छन् । उनी शिक्षा विषय लिएर स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । कम्प्युटरको डेटा म्यानेजमेन्टसम्बन्धी केही तालिम पनि लिएको उनले बताए । ‘‘धेरै ठाउँमा फाराम भरेको छु त्यसैले मेलापछि कहीँ न कहीँ जागिर पाइने आस लागेको छ’’, उनले भने ।
यसैगरी, वीरेन्द्रनगर नगरपालिका–६ की बिपना रेग्मी पनि रोजगारीका लागि मेलामा आएकी थिइन् । उनीसँग कम्प्युटरसम्बन्धी ज्ञान छ । जागिरका लागि विभिन्न ठाउँमा पुगेको भए पनि कुनैपनि ठाउँमा काम गर्ने अवसर नपाएको उनले बताइन । उनले राम्रो काम पाइन्छ कि भनेर मेला अवलोकनका लागि आएको जानकारी दिइन् ।
कर्णाली प्रदेशमा उहाँहरूजस्ता हजारौँ युवाले रोजगारीको आसमा रोजगार मेलामा आवेदन दिइरहेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । दुई दिने मेला अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका छन् । सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकको रूपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, होटल सङ्घ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासङ्घ छन् ।
श्रमाधान रोजगार मेला आजसम्म चल्नेछ । मेलाले रोजगारदाता र रोजगार खोज्नेबिच जमघट गराउने, रोजगारीको अवसर सिर्जना गर्ने, सिप विकास प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्डका उपसचिव टीकाराम ढकालले बताउनुभयो । रोजगार मेलामा ४० वटा स्टल राखिएको छ । आठ वटा स्टल सरकारी र ३२ वटा स्टल निजी क्षेत्रका रहेका छन् ।
मेलामा श्रम तथा वैदेशिक रोजगारलगायतका बारेमा प्यानल छलफल र विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । कर्णालीमा ठुला उद्योग कलकारखाना नभएकाले अन्य प्रदेशको तुलनामा धेरै रोजगारीको अवसर सिर्जना नभए पनि कर्णालीको आवश्यकतालाई पूरा गर्ने खालको जमघट यो रोजगार मेला बन्ने दाबी गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार