Listen LIVE

कर्णाली नदीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

अछाम : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बिच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बिच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । 

“पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उनले भने–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।” पुलको दाहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।

प्रतिक्रिया