Listen LIVE

'नेपालको विपद् भारतको पनि विपद् हो'

नेपालगञ्ज : भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीडामा सबैभन्दा बढी दुःखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताएका छन् । 

नेपाल–भारत सिमानाको रुपईडिहास्थित नेपालगञ्ज रोड रेल स्टेशनमा ब्राडगेज रेल सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद् नेपालको मात्र नभई भारतको पनि विपद् भएको जनाए । विपदमा परेर धेरै भारतीय नागरिकको पनि ज्यान गएको उनले बताए । 

उनले बाढीको पहिलो दिनबाटै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग पठाउँदै आएको र सहयोग निरन्तर जारी रहने प्रस्ट पारे । नेपालमा यस पटक आएको बाढीबाट भएको जनधनको क्षति अपूरणीय रहेको जनाउँदै मुख्यमन्त्री योगीले आफ्नो सबैभन्दा नजिकको छिमेकी नेपाललाई फेरि पुरानै लयमा फर्काउन भारतले हरेक प्रकारको सहयोग जारी राख्ने बताए । 

उनले केही वर्षअघि भूकम्पका बेला पनि नेपाललाई भारतले ठुलो सहयोग गरेको स्मरण गर्दै नेपालका हरेक दुःखमा भारतले सबैभन्दा अगाडि बढेर सहयोग गर्दै आएको जनाए । 

मुख्यमन्त्री योगीले नेपालगञ्ज रोडबाट भारतका प्रसिद्ध धार्मिकस्थलहरू अयोध्या, गोरखपुर हुँदै बनारस पुग्ने यो ब्राडगेज रेल सेवाले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई झनै प्रगाढ बनाउने बताए । 

उनले भने, 'यो एउटा सामान्य रेल सञ्चालन मात्र होइन, यसले नेपाल र भारत दुवै देशको धार्मिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ पार्नुका साथै आर्थिक विकासको नयाँ सम्भावना र ढोकाहरू पनि खोल्ने छ ।'

सो अवसरमा भर्चुअल माध्यमबाट बोल्दै भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले देशभरिका नेपाल–भारत सिमानाबाट रेल सेवालाई विस्तार र विकास गर्ने योजना रहेको जनाउँदै अहिले सुरु गरिएको सेवा पनि सोही योजना अन्तर्गत नै गरिएको बताए ।

प्रतिक्रिया