नेपालगञ्ज : यस वर्ष बाँके जिल्लाका आठ हजार पाँच सय घरपरिवारका ३५ हजार जनसंख्या बाढी र डुबानबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार पारेको मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार यस वर्षको मनसुनमा बाँकेमा आठ हजार पाँच सय घरपरिवारका ३५ हजार जनसंख्या बाढी र डुबानको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको हो ।
जिल्लामा बाढी र डुबानबाट हुने सम्भावित जोखिम कम गर्न सबै प्रकारको पूर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए ।
उनले रसुवामा बाढी आएपछि सचेतना अपनाउँदै बाँकेमा सम्भावित बाढी र डुबानको जोखिम रहेका स्थानमा तयारी अवस्थामा रहन सम्बन्धित सबैलाई आग्रह गरिएको बताए ।
सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार पहाडी जिल्लाहरूमा वर्षा भइरहेकोले जिल्लाका जोखिमको सम्भावित क्षेत्रमा पूर्व तयारीका सबै काम गरेर बस्न आग्रह गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सम्भावित बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति र आठ वटै स्थानीय तहले मनसून पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम गरिरहेको बताए ।
उनले बाढी र डुबानको सबैभन्दा बढी जोखिममा रहेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा बिशेष तयारी गरिएको जनाए ।
राप्ती नदीमा आउने बाढी र डुबानबाट जोगाउन राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा तटबन्ध निर्माण गरिएकोले पहिलेजस्तो जोखिम नरहेपनि बाढी आउने अन्य सम्भावित स्थानमा सचेतना अपनाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार